fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ डाक्टर आन्दोलन : सामूहिक राजीनामा दिने चेतावनी

डाक्टर आन्दोलन : सामूहिक राजीनामा दिने चेतावनी

आन्दोलनरत डाक्टरसँग अब वार्ता हुँदैन : स्वास्थ्य मन्त्रालय

Bir hospital Doctors protest newskarobar

आन्दोलनमा उत्रिएका सरकारी डाक्टरहरुले मंगलबार पाँचौं दिन पनि विरोधका कार्यक्रम जारी राखे । देशभरका सरकारी अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेर संवेदनहीन बन्दै आन्दोलनमा उत्रिएका उनीहरुले मंगलबारदेखि ‘मेडिकोलेगल’ सेवा पनि बन्द गरेका छन् ।

कर्मचारी समायोजन ऐनको व्यवस्था अन्यायपूर्ण भएको उनीहरुले आन्दोलन सुरु गरेका हुन् । अत्यावश्यक सेवा बन्द गर्दै भएको आन्दोलनबाट देशैभरका बिरामी मर्कामा परेपछि सरकारले भने आन्दोलन फिर्ता लिन आग्रह गर्दै आएको छ । तर, उनीहरुले सरकारमाथि दबाब बढाउन सामूहिक राजीनामा दिने भन्दै देशभरबाट हस्ताक्षर संकलन गरिरहेका छन् ।

समायोजनका लागि सरकारले बल प्रयोग गर्ने तयारी गरेपछि चिकित्सकले हस्ताक्षर अभियान सुरु गरेका हुन् । स्वास्थ्य मन्त्रालयअन्तर्गत करिब १ हजार ४ सय डाक्टर कार्यरत छन् । मंगलबार दिउँसोसम्म ७ सयभन्दा बढीको हस्ताक्षर संकलन भएको र अरू संकलन हुने क्रममा रहेको सरकारी चिकित्सक संघ (गोदान)का उपसभापति डा. सुनिल पौडेलले जानकारी दिए ।

‘जायज माग पूरा गर्न आग्रह गर्दा सरकारले नमानेपछि हामीले बाध्य भएर आन्दोलन गरेका हौँ,’ गोदानका उपसभापति पौडेलले न्युज कारोबारसँग भने, ‘कारबाही गर्ने सरकारको धम्कीले डराउँदैनौं, हामीले सामूहिक राजीनामा दिने तयारी गरेका छौँ ।’ सरकारले बल मिच्याइँ गरेकाले राजीनामाको विकल्प अघि सार्नुपरेको उनको दाबी छ ।

सरकारी डाक्टरहरुको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प छन् । सरकारी दरबन्दीका चिकित्सकले काम नगर्दा बिरामीको धेरै चाप हुने वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, शुक्रराज ट्रफिकल अस्पताल टेकु, गंगालाल हृदयरोग केन्द्र बाँसबारीसहित ठूला अस्पतालका ओपिडी, शल्यक्रियासहितका सेवा पाँचौं दिन पनि ठप्प रहे । मंगलबारदेखि उनीहरुले ‘मेडिकोलेगल’ सेवा पनि बन्द गरेका छन् । सरकारी अस्पतालमा सेवा नपाएपछि बिरामीहरु निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गराउन बाध्य भएका छन् ।

कर्मचारी समायोजन ऐन २०७५ अन्यायपूर्ण भएको भन्दै सरकारी चिकित्सक आन्दोलनमा उत्रिएका हुन् । ऐनमा डाक्टरलाई स्थानीय तह तथा प्रदेशअन्तर्गत समायोजनको व्यवस्था छ । सोही व्यवस्थाअनुसार समायोजनमा जाने एमबीबीएस डाक्टरहरु कतिपय ठाउँमा अहेब तथा खरिदारअन्तर्गत रहेर काम गर्नुपर्ने हुन्छ । स्थानीय तहमा जानेहरु सरुवा हुन तथा विशेषज्ञ चिकित्सक बन्नसमेत पाउने अवस्था नरहने गोदानका उपसभापति पौडेल बताउँछन् ।

आन्दोलनरत डाक्टरसँग वार्ता होइन, कारबाही गर्छाैं : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भने आन्दोलनरत चिकित्सकहरू तत्काल काममा नफर्किए कारबाही गर्नेे चेतावनी दिँदै आएका छन् । आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर काममा फर्कन आग्रह गर्दै मन्त्रालयले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र ठप्प पारेर जनताको स्वास्थ्यसँग खेलवाड नगर्न चिकित्सकलाई उनले चेतावनी दिइरहेका छन् ।

मन्त्रालयले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राखे आवश्यक सेवा सञ्चालन ऐन २०१४ र अन्य प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका चिकित्सकसँग वार्ता गर्नुको कुनै तुक नभएको बताए । ‘आन्दोलनरत सरकारी चिकित्सकहरुको अधिकांश माग सम्बोधन भइसकेका छन्,’ न्युज कारोबारसँग उनले भने, ‘सेवा ठप्प पारेर आन्दोलनमा उत्रिनुको कुनै औचित्य छैन । समान सेवा सुविधा प्रदान गरेर समायोजनको प्रक्रियामा लगिए पनि अनावश्यक रुपमा माग तेस्र्याएर संवेदनशील क्षेत्र बन्द गर्नु चिकित्सकको धर्मविपरीत छ, यसैले वार्ता आवश्यक छैन ।’

प्रकाशित समय २१:२२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु