fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ एक वर्ष नपुग्दै सप्तकोशीमा थन्कियाे जेट बाेट

एक वर्ष नपुग्दै सप्तकोशीमा थन्कियाे जेट बाेट

प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज सञ्चालन गर्ने घोषणा गरेपछि उत्साहित भएर व्यवसायीले सुनसरीको चतरास्थित सप्तकोशी नदीमा साना आकारका पानीजहाज (जेट बोट) सञ्चालनमा ल्याए । तर, सरकारले आवश्यक पूर्वाधार तयार नगर्दा करोडौँ रुपैयाँ लगानी गरेका व्यवसायी निराश भएका छन् । ७ करोड रुपैयाँ भन्दा बढी लगानी गरेर झण्डै ८ महिनाअघि सुनसरीको चतरास्थित सप्तकोशी नदीमा सानो आकारका पानी जहाज सञ्चालनमा ल्याएका बराह क्षेत्र मरिन एण्ड रिसोर्ट प्रा.लिका सञ्चालक सुनिल पौडेलले नीजि क्षेत्रको सक्रियतामा जहाज सञ्चालन गरेपनि सरकारले उपेक्षा गरिरहेको गुनासो गरे ।

उनले भने ‘प्रधानमन्त्री ज्यूले पानी जहाजको सपना देख्नु भएको छ । प्रधानमन्त्रीको सपना पूरा गर्न पानी जहाज सञ्चालन गरेका हौं । तर अहिले पूर्वाधार तयार नहुँदा जहाज थन्काएर राख्नु परेको छ ।’ नेपालकै सबैभन्दा ठूलो नदी सप्तकोशीबाट १५ मिनेटको जलयात्रामा भोजपुर पुगिन्छ । तर पानी भित्र रहेका ठुला ठुला ढुंगा हटाएर जलमार्गको पूर्वाधार तयार नगर्दा व्यवसायीले जेटबोट थन्काएर राख्न बाध्य भएका हुन् । नदी भित्रका ढंगाहरु बिस्फोट गरेर पन्साउनुपर्ने बताउँदै उनले त्यो अधिकार नीजि क्षेत्रलाई नरहेको बताए । उनले सरकारले जल मार्गको आवश्यक पूर्वाधार सरकारले मात्र तयार गर्न सक्ने बताउँदै तत्काल सो कार्य गरिनुपर्ने बताए ।

उनले भने ‘सरकारले नदीका ढुंगा हटाउनुको साटो नदी माथि बराह क्षेत्र जाने बाटा बनाउँदै छ । त्यो बाटोका ढंगाको व्यवस्थापन गर्नुको साटो उल्टै नदीमै खसाइरहेको छ । यसले भइरहेको जलमार्ग समेत बन्द हुने अवस्था छ । यसतर्फ सरकारको ध्यान जान जरुरी छ । ’बराह क्षेत्र मरिन एण्ड रिसोर्ट प्रा.लि. को नामबाट कम्पनी दर्ता गरेर ८० जना क्षमताको एक, २५ जनाको क्षमता रहेको एक र १०/१० जना क्षमताका ४ वटा पानीजहाज ल्याइए पनि पूर्वाधार अभावमा त्यसै थन्काउनुपरेको उनको गुनासो छ ।

हाल १०/१० जना क्षमताका जेट बोटहरु मात्र सञ्चालनमा रहेको र चतरास्थित कोशीपुल छेउमा निर्माण गरिएको रिसोर्टसम्म मात्र जहाज सञ्चालन भइरहेको उनले जानकारी दिए । देशैभर नै चर्चा कमाएको पानीजहाजमा चढ्न पर्यटकहरु उत्साहित भएर आउने गरेको भएपनि नदीमा रहेको ढुंगाकै कारण टाढा–टाढा सम्म जल यातायात सञ्चालन गर्न नसकिएको पौडेलले गुनासो गरे ।
उनले भने ‘यहाँ यात्रु तथा पर्यटकहरु निकै उत्साहपूर्वक आउने गर्नुभएको छ । तर, रिसोर्ट सम्म मात्र जेटबोट सञ्चालन गर्न सकिएको छ । सोचे अनुसार हुन सकिरहेको छैन ।’

हाल पानीजहाजमा चढ्न पर्यटकहरु सप्तकोशी पुग्ने गरेका छन । उनीहरुले पानीजहाजमा चढेर यात्रा गर्दा आनन्दको अनुभूति हुने र नदीबाट रमणीय दृश्यावलोकन गर्न सकिने भन्दै खुशी व्यक्त गरेका छन् । सिन्धीलीबाट जहाज चढ्न पुगेका यात्रु युवरमज थापाले स्वदेशमा पनि जल यातायात सञ्चालन भएकोमा खुसी व्यक्त गरे । उनले भने ‘नेपालमा पनि जल यातायात सञ्चालन भएको कुराले म खुुशी छु । धेरैले प्रधानमन्त्री ज्यूको खिल्ली उडाए तर गर्यो भने सम्भव छ । सरकारले यस क्षेत्रमा लगानी गरेर अझ पूर्वाधार तयार पार्ने हो भने मुलुक समृद्धिको दिशामा अगाडी बढ्छ ।’

पानीजहाज सञ्चालन र जलमार्ग विस्तारको कुरा गर्ने प्रधानमन्त्रीले नीजि क्षेत्रको प्रयासमा सञ्चालन गरेका पानीजहाजका लागि आवश्यक पूर्वाधार समेत तयार गर्न सकेका छैनन् । पानीजहाजको सपना देखाएर पानीजहाज कार्यालय स्थापना गरेका प्रधानमन्त्रीले नीजि क्षेत्रबाट सञ्चालित जलयातायातका समस्या पनि समाधान गरिदिन जरुरी छ । यता आर्थिक विकास र समृद्धि अनि पर्यटनलाई मुख्य आधार मानेको प्रदेश १ को सरकारले पनि सप्तकोशी नदीमा सञ्चालित पानी जहाजको व्यवस्थापनमा ध्यान नदिएको व्यवसायीको गुनासो छ ।

प्रकाशित समय १२:४७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु