fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ सेयर बजार प्रवेश गर्न ‘गोल्डेन अवसर’

सेयर बजार प्रवेश गर्न ‘गोल्डेन अवसर’

nepse-index-newskarobar

२०७३ साउन १२ गते (प्रतिकित्ता सेयर मूल्य)

एभरेस्ट बैंक : ३,४३९ रुपैयाँ

स्ट्यान्डर्ड चार्डड बैंक : ३,७७६ रुपैयाँ

नागबेली लघुवित्त विकास बैंक : ४,२९० रुपैयाँ

साना किसान विकास बैंक : २,२३५ रुपैयाँ

नेपाल लाइफ इन्स्योरेन्स : ४,०२० रुपैयाँ

शिखर इन्स्योरेन्स : ३,७९६ रुपैयाँ

मुक्तिनाथ विकास बैंक : १,५८५ रुपैयाँ

सानिमा माई हाइड्रोपावर : १,०८० रुपैयाँ

अपी हाइड्रोपावर : ८८० रुपैयाँ

सोल्टी होटल : ४३८ रुपैयाँ

 

२०७५ फागुन १५ गते (प्रतिकित्ता सेयर मूल्य)

एभरेस्ट बैंक : ५०७ रुपैयाँ

स्ट्यान्डर्ड चार्डड बैंक : ५३० रुपैयाँ

नागबेली लघुवित्त विकास बैंक : ६२९ रुपैयाँ

साना किसान विकास बैंक : ८३३ रुपैयाँ

नेपाल लाइफ इन्स्योरेन्स : १,०१५ रुपैयाँ

शिखर इन्स्योरेन्स : ८६१ रुपैयाँ

मुक्तिनाथ विकास बैंक : ३३६ रुपैयाँ

सानिमा माई हाइड्रोपावर : २१५ रुपैयाँ

अपी हाइड्रोपावर : १२४ रुपैयाँ

सोल्टी होटल : २०० रुपैयाँ

 

नेपालको सेयर बजारमा अहिले करिब ४१ प्रतिशत गिरावट आएको छ । नेप्सेमा सूचीकृत बैंक, बिमा, होटल, वित्त, विकास बैंक, जलविद्युत, उत्पादनमूलक, लघुवित्तलगायतका सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक ४१ प्रतिशतले ओरालो लागेको हो ।

२०७३ साउन १२ गते १८८१ अंकमा पुगेर घट्न थालेको सेयर बजार अढाइ वर्षपछि २०७५ फागुन १५ गते बुधबार ११०५ अंकमा झरेको छ । यो गिरावट ४१ प्रतिशतभन्दा धेरै हो । नेप्से उच्च विन्दु भएका बेलाको मूल्यसँग कम्पनीहरुको फागुन १५ गतेको मूल्य तुलना गर्दा भने अधिकांशको मूल्यमा ८५ प्रतिशतभन्दा धेरै ह्रास आएको छ ।

नेप्से उच्च विन्दुमा रहँदा एभरेस्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ३,४३९ रुपैयाँ थियो भने फागुन १५ गते ५०७ रुपैयाँमा झरेको छ । यो गिरावट ८५ प्रतिशतभन्दा धेरै हो । माथि उल्लिखित कम्पनीहरुमा स्ट्यान्डर्ड चार्डडको सेयर मूल्यमा पनि प्रतिकित्ता ८५ प्रतिशत नै गिरावट आएको छ ।

त्यस्तै, नागबेली लघुवित्तको ८५ प्रतिशत, साना किसान विकास बैंकको ६२ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सको ७४ प्रतिशत, शिखर इन्स्योरेन्सको ८२ प्रतिशत, मुक्तिनाथ विकास बैंकको ७८ प्रतिशत, सानिमा माई हाइड्रोपावर कम्पनीको ८० प्रतिशत, अपी पावर कम्पनीको ८५ प्रतिशत र सोल्टी होटलको ५४ प्रतिशतले प्रतिकित्ता सेयर मूल्य घटेको छ । नेप्सेमा सूचीकृत २१८ कम्पनीमध्ये यी केही कम्पनी उदाहरणका रुपमा लिइएका हुन् ।

औसतमा वाणिज्य बैंक समूहको सेयर मूल्यमा ६० प्रतिशतको गिरावट आएको छ । जीवन बिमा र निर्जीवन बिमा कम्पनी समूहको सेयर मूल्य औसत ७० प्रतिशतभन्दा बढी घटेको छ भने जलविद्युत् समूहको सबैभन्दा धेरै ८० प्रतिशतभन्दा बढी घटेको छ ।

कुल बजार पुँजीकरणका हिसाबले पनि नेप्से करिब ३६ प्रतिशत घटेको छ । २०७३ साउनमा २१ खर्बभन्दा बढी कुल बजार पुँजीकरण रहेकोमा अहिले १३ खर्ब ५१ अर्बमा झरेको छ । यसको अर्थ, लगानीकर्ताको सम्पत्ति साढे ७ खर्बभन्दा धेरैले घटेको छ ।

सुरुवाती केही महिना हकप्रद र बोनसको भारी बोक्नुपरेका कारण मूल्य समायोजन भएर कम्पनीको मूल्य ओरालो लाग्यो । दोस्रो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी घटेपछि लगानीकर्ता थप निरुत्साहित बने । अहिले लगानीकर्ता उच्च ब्याजको घानमा परेका छन् । अढाइ वर्षदेखि बजार लगातार ओरालो लागेपछि लगानीकर्ताको मनोबल उठ्न सकेको छैन ।

 

यथार्थमा भने कम नोक्सान

यथार्थमा भने लगानीकर्ताले माथि उल्लिखित प्रतिशत बराबर नोक्सानी व्यहोरेका छैनन् । अर्थात्, बजार पुँजीकरणका हिसाबले भने लगानीकर्ताको व्यहोरेको घाटा कम हुन्छ । उदाहरणका लागि १ हजार कित्ता एभरेस्ट बैंकको सेयर हुनेले २०७३ साउन १२ गते बेचेको भए ३४ लाख ३९ हजार सम्पत्ति बनाउँथ्यो । २०७५ फागुन १५ गते बेचेको भए उसको कुल सम्पत्ति १५ लाख ३२ हजार २०५ रुपैयाँबराबर हुन्छ । किनकि, उसको कुल सेयर संख्या तीन गुणा बढेर ३,०१५ कित्ता (७० प्रतिशत बोनस, ३३ प्रतिशत हकप्रद, त्यसपछि ३३ प्रतिशत बोनस) पुगिसकेको छ ।

यसबाहेक उसले ६० हजार ३ सय रुपैयाँ नगद लाभांश पाएको छ भने ३:१ अनुपातको हकप्रदका लागि ५६ हजार ७ सय थप तिरेको छ । अर्थात्, उसको फागुन १५ गतेको सम्पत्ति १५ लाख २८ हजार ६०५ रुपैयाँमा लाभांश रकम जोडेर हकप्रद सेयर किनेको मूल्य घटाउँदा १५ लाख ३२ हजार २०५ रुपैयाँ हुन्छ । यो भनेको २०७३ साल साउन १२ गतेको मूल्यको आधारमा ५५ प्रतिशत (ब्याजबाहेक) नोक्सानी हो । यसैगरी, अन्य कम्पनीको पनि बोनस र हकप्रदको यथार्थ हिसाब निकाल्ने हो भने नोक्सान कम देखिनेछ ।

 

बजार प्रवेश गर्न गोल्डेन अवसर’

सेयर बजार घट्नु बढ्नु सामान्य नियम हो । तर, बजारको औसत गति थाहा पाउन नसक्नु लगानीकर्ताको कमजोरी हो । अज्ञानताका कारण पनि लगानीकर्ताले ठूल्ठूलो नोक्सानी व्यहोर्ने गर्छन् । ‘जतिबेला मूल्य न्यून विन्दुतर्फ हुन्छन्, लगानीकर्ता डराउँछन् र बजार प्रवेश गर्दैनन्,’ सेयर विश्लेषक रविन्द्र भट्टराई भन्छन्, ‘जब बजार बढेर उच्च विन्दुतर्फ जान थाल्छ, अनि बजार प्रवेश गर्नेको घुइँचो लाग्छ ।’ उनका अनुसार सेयर बजारमा घटेको बेला प्रवेश गर्ने र बढेको बेला निस्किन जान्नेले बढी कमाउँछ । यात, राम्र कम्पनीमा दीर्घकालीन लगानी गर्नेले धेरै कमाउँछ । तर, बजारको औसत न्यूनतम विन्दु थाहा पाउन नसक्दा अहिले लगानीकर्ता बजार प्रवेश गर्न सकिरहेका छैनन् । लगानीकर्ताले राम्रा कम्पनी चिनेर छानी छानी किन्ने र होल्ड गर्न सक्ने हो भने लगानीका लागि यो उपयुक्त अवसर भएको विश्लेषक भट्टराई बताउँछन् ।

यसरी थाहा पाउन सकिन्छ, सेयर बजारको न्यूनतम विन्दु : रविन्द्र भट्टराई

बजार सुधारका लागि अर्थ मन्त्रालयले लगानीकर्तासमेत सम्मिलित समिति नै गठन गरेर पनि नेपाल धितोपत्र बोर्डमार्फत सुझाव कार्यान्वयनमा ल्यायो । लगानीकर्ताको सहजताका लागि मार्जिन लेन्डिङको सीमा बढाइयो । तर, बजार ब्याजदर उच्च भएका कारण अनलाइन ट्रेडिङ र बजार सुधारका थुप्रै कामका बाबजुद पनि लगानीकर्ताको मनोबल माथि उठ्न नसकेको अनलाइन सेक्युरिटिजका प्रबन्ध निर्देशक अनन्त पौडेल बताउँछन् । ‘अहिले पिइ रेसियो पनि १०–११ हाराहारीमा झरेको छ, राम्रा कम्पनीको मूल्य ८०–८५ प्रतिशतले घटेको छ, यसले पनि बजार प्रवेश गर्ने उपयुक्त समयको संकेत गर्छ,’ उनी भन्छन्, ‘तर ब्याजदर विगतको तुलनामा दोब्बरभन्दा धेरैले बढेका कारण ठूला र संस्थागत लगानीकर्ता बजार प्रवेश गर्न सकिरहेका छैनन् ।’ यद्यपि, यो समय नयाँ लगानीकर्ताका लागि समेत ‘गोल्डेन अवसर’ भएको उनको विश्लेषण छ । ब्रोकरमार्फत मार्जिन लेन्डिङको व्यवस्थाले केही सहज अवस्था आउनसक्ने भए पनि तरलता समस्या समाधान नभएसम्म ठूलो सुधारको अपेक्षा भने गर्न नसकिने प्रबन्ध निर्देशक पौडेलले बताए ।

प्रकाशित समय १०:५४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु