fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ आईसीपी निर्माण अन्तिम चरणमा, दुई महिनामा हस्तान्तरण

आईसीपी निर्माण अन्तिम चरणमा, दुई महिनामा हस्तान्तरण

icp-biratnagar-newskarobar

भारत सरकारको लगानीमा विराटनगरको बुधनगरमा निर्माण भइरहेको एकीकृत जाँचपास चौकी (आईसीपी) निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले परियोजनाको काम छिट्टै सम्पन्न गर्न ‘एप्रोच रोड’ ‘वाइपास रोड’ निर्माण गरिसकेको छ भने साढे ७ किलोमिटर आन्तरिक रोड निर्माणको काम समेत अन्तिम चरणमा पुगेको परियोजना व्यवस्थापक अबधेश साहले जानकारी दिए ।

उनका अनुसार हालसम्म आईसीपी भित्र रहने सम्पूर्ण भवनहरुको मुख्य काम सकिएको र फिनिसिङ मात्र गर्न बाँकी रहेको छ । परियोजना व्यवस्थापक साहले हालसम्म आईसीपी परियोजना क्षेत्रको पर्खाल निर्माण, ओभरहेड ट्यांक निर्माण, प्रवेशद्वार निर्माणलगायतका काम भएको र परियोजनाको ८५ प्रतिशत बढी काम सकिएको जानकारी दिए ।

उनले भने ‘हामीले अहिलेसम्म मेजर कामहरु सकेका छौं । अब कुनै बाधा अवरोध नआए २ महिनामा हस्तान्तरण गर्छौं ।’ भारततर्फ भने संरचना निर्माण सम्पन्न भएर यस अघि नै सञ्चालनमा आइसकेको छ । एकीकृत जाँचपास चौकी भारत सरकारकै लगानीमा नेपाल र भारतपट्टि उस्तै संरचना निर्माण गर्नकालागि सन् २०१६ डिसेम्बर २७ मा भारतीय ठेकेदार कम्पनी दिनेशचन्द्र आर अग्रवाल इन्फ्राशन प्रा.लि सँग सम्झौता भएको थियो ।

आईसीपीका लागि नेपाल सरकारले जग्गामात्र उपलब्ध गराएको हो । दुबै देशबीच भएको सम्झौता अनुसार भारत सरकारले आइसीपी निर्माण गरि नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । नेपाल सरकारले आईसीपी निर्माणका लागि जग्गा उपलब्ध गराउन मुआब्जा वितरणलगायतका काममा ढिलाई हुँदा नेपालतर्फ आईसीपी निर्माण परियोजनाको काम ढिलो गरि भएको हो । निमार्ण कार्यले गति लिएपछि यस क्षेत्रका उद्योगी व्यवसायी पनि खुसी भएका छन् ।

मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्दडाले आईसिपी निर्माणकार्य अन्तिम चरणमा पुगेको बताउँदै आइसिपी तत्काल सञ्चालनमा आए आयात निर्यातमा सहजता र लागत न्यूनिकरणसमेत हुने बताए । उनले हाल विराटनगर भन्सार नाकाबाट बस्तु आयत गर्दा लाग्ने समय र भिडभाड अन्त्य हुने बताए । उनले भने ‘अहिले सामान आयात गर्दा भन्सारमा जुन समय र पैसा लागि रहेको छ, आइसिपी सञ्चालनले त्यो निश्चयनै कम हुन्छ । सबै जाँच एकै थलोबाट हुने भएकाले यो प्रदेशबासीका लागि मात्र नभएर देशबासीकै लागि खुसीको विषय हो ।’

आईसीपी निमार्णका लागि हाल दैनिक ५ सय बढी कामदारले काम गरिरहेका छन । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय विराटनगरका अनुसार आईसीपी निर्माणका लागि १ सय २९ बिघा जग्गा र लिंक रोडका लागि ४० बिघा अधिग्रहण पश्चात ३० करोड १३ लाख ५४ हजार रुपैयाँ मुआब्जा वितरण गरि आईसीपि निर्माणका लागि भारतलाई जग्गा हस्तान्तरण गरिएको छ ।

एकीकृत जाचपास चौकी निर्माण सम्पन्न भएपछि, पशु क्वारेन्टाईन, गोदाम घर, भन्सार चौकी, लगायत जाँचको काम सबै एकै थलोबाट हुने र विभिन्न वस्तु आयात निर्यातमा समेत सहज हुनेछ । एकिकृत जाँचपास चौकी (आइसिपी) भारत सरकारको २ सय ३८ करोड भारतीय रुपैयाँको लगानीमा निर्माण भईरहेको हो ।

प्रकाशित समय ११:३० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु