fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ एक दिनकै कमाइ १ करोड २१ लाख

एक दिनकै कमाइ १ करोड २१ लाख

nabil_bank_newskarobar

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका १२ वटा वाणिज्य बैंकको ६ महिनाकै नाफा अर्बभन्दा धेरै छ । नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) प्रतिवेदनअनुसार तीमध्ये नबिल बैंकको नाफा २ अर्बभन्दा बढी छ भने नेपाल इन्भेष्टमेण्ट बैंक र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्बनजिक छ ।

भर्खरै सार्वजनिक वित्तीय विवरणअनुसार नेपालका एकमात्र अर्बपति एवं उद्योगी विनोद चौधरीको मुख्य लगानी रहेको नबिल बैंकको दैनिक खुद नाफा करिब १ करोड २१ लाख रुपैयाँ छ । नबिल बैंकको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको खुद नाफा दुई अर्ब १७ करोड ६८ लाख रुपैयाँअनुसार दैनिक झन्डै सवा करोड नाफा देखिएको हो । नबिल बैंकको यो नाफा सबै वाणिज्य बैंकको भन्दा उच्च हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको प्रतिसेयर आम्दानी वार्षिक ५४ रुपैयाँ २८ पैसा कायम छ ।

सबैभन्दा बढी नाफा कमाउनेको दोस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको दैनिक खुद नाफा करिब १ करोड १० लाख रुपैयाँ छ । इन्भेष्टमेन्ट बैंकले चालू आर्थिक वर्षको पुससम्ममा एक अर्ब ९७ करोड कमाएको हो । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ३८ पैसा पुगेको छ ।

त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको दैनिक नाफा १ करोड ८ लाख रुपैयाँभन्दा धेरै छ । बैंकले चालू आर्थिक वर्षको ६ महिनामा एक अर्ब ९६ करोड खुद नाफा कमाएको हो । बैंकको कुल ग्राहक संख्या ३० लाखभन्दा बढी छ ।

सबैभन्दा बढी नाफा गर्ने चौथो बैंकमा सरकारी स्वामित्वकै नेपाल बैंक छ । नेपाल बैंकले दैनिक ९२ लाख २२ हजार रुपैयाँभन्दा बढी नाफा गरेको छ । यो नाफा गत वर्षको भन्दा सामान्यमात्र धेरै हो । बैंकको नाफामा खासै बढोत्तरी भएको छैन । गत आवको पुस मसान्तसम्ममा एक अर्ब ६३ करोड ८४ लाख नाफा कमाएको बैंकले यो वर्षको सोही अवधिमा एक अर्ब ६६ करोड १४ लाख नाफा कमाएको हो । पुस मसान्तसम्ममा बैंकको वार्षिक प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ८७ पैसा छ ।

समीक्षा अवधिको सबैभन्दा धेरै नाफा वृद्धि गर्न सफल बैंक हो, एनआईसी एसिया । आक्रामक ब्रान्डिङका कारण ग्राहक संख्या नै १४ लाख नघाएको एनआईसी एसिया बैंकले चालू आर्थिक वर्षको ६ महिनामा १६४ प्रतिशत बढीले नाफा कमाएको छ । बैंकले गत पुस मसान्तसम्ममा एक अर्ब ५१ करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५७ करोडमात्रै खुद नाफा कमाएको थियो । यस हिसाबले बैंकको दैनिक नाफा करिब ८४ लाख रुपैयाँ छ ।

निजी क्षेत्रमा निकै बलियो मानिएको अर्को बैंक हो, एभरेष्ट । एभरेष्ट बैंकले दैनिक ७८ लाखभन्दा बढी नाफा गरेको छ । बैंकले पुस मसान्तसम्ममा एक अर्ब ४२ करोड रुपैयाँ नाफा गरेको हो । यो नाफा बैंकको गत वर्षको सोही अवधिको तुलनामा २० करोड धेरै हो । गत वर्षको पहिलो ६ महिनामा बैंकले एक अर्ब २२ करोड नाफा गरेको थियो ।

आर्थिक वर्षको ६ महिनामै अर्बपति क्लबमा पर्न सफल अर्को बैंक हो हिमालयन । यो बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब ३६ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा २३.६२ प्रतिशत अर्थात २६ करोड ११ लाख रुपैयाँले धेरै हो । गत आवको यो अवधिमा बैंकले एक अर्ब १० करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस हिसाबले बैंकको दैनिक नाफा करिब ७६ लाख रुपैयाँ हुन आउँछ । बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९ पैसा पुगेको हो ।

केही दिनअघि सार्वजनिक वित्तीय विवरणअनुसार ग्लोबल आइएमई बैंकको दैनिक खुद नाफा करिब ६८ लाख रुपैयाँ छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमास अवधिमा बैंकले खुद नाफा २५.४६ प्रतिशतले बढाएको छ । गत आवको यसै अवधिमा ९७ करोड ९९ लाख खुद नाफा आर्जन गरेको बैंकको नाफा २४ करोड ९४ लाख बढेर एक अर्ब २२ करोड ९३ लाख पुगेको हो । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८५ पैसा कायम छ ।

एनएमबी बैंकले पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब १० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै आफूलाई ६ महिनामै अर्बपति क्लबमा उकालेको छ । गत वर्षको पुस मसान्तको तुलनामा बैंकले १५.२८ प्रतिशतले खुद नाफा बढाएको हो । गत पुस मसान्तसम्ममा बैंकको खुद नाफा ९६ करोड २७ लाख रुपैयाँ थियो । एनएमबी बैंकको दैनिक कमाइ करिब ६२ लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा छ ।

त्यस्तै, सिद्धार्थ बैंक पनि यो वर्षदेखि आर्थिक वर्षको ६ महिनामै अर्बभन्दा बढी नाफा कमाउने बैंक बनेको छ । बैंकले पुससम्ममा १ अर्ब ६ करोड ९४ लाख खुद नाफा गरेको हो । गत वर्षको सोही अवधिमा बैंकको नाफा ८६ करोड ९३ लाखमात्र थियो । यस हिसाबले बैंकको दैनिक खुद नाफा करिब ६० लाख रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २४.०७ रुपैयाँ छ ।

पुससम्ममा अर्बपति क्लबमा पर्न सफल प्रभु बैंकले खुद नाफा १ अर्ब ४ करोड १८ लाख रुपैयाँ रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्षको सोही अवधिमा बैंकको नाफा ६० करोड ११ लाखमात्र थियो । बैंकले दैनिक करिब ५८ लाख नाफा गरेको छ । यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५.३१ रुपैयाँ छ ।

भर्खरै जारी एनएफआरएस प्रतिवेदनअनुसार एसबिआई बैंकले १ अर्ब २ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा १२.०२ प्रतिशतले बढेको हो । गत वर्ष बैंकले ९१ करोड ३० लाख रुपैयाँ आर्जन गरेको थियो । बैंकको दैनिक खुद नाफा ५६ लाखभन्दा धेरै छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २१ पैसा छ ।

पुँजी वृद्धिको प्रभाव
वाणिज्य बैंकहरुलाई तीन वर्षअघि नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी ८ अर्ब पुर्याउन निर्देशन दिएपछि बैंकहरु आक्रामक कर्जा विस्तार गर्न बाध्य भएसँगै नाफामा पनि गुणात्मक वृद्धि देखिएको छ । पुँजी वृद्धिसँगै नाफा आर्जनको सन्तुलन कायम राख्न अतालिएर कर्जा प्रवाह बढाएका बैंकहरुले कर्जा–निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभन्दा पनि बढी गरेका थिए ।

बैंकहरुले तीव्र लगानी विस्तार गरे पनि सरकारले पुँजीगत खर्च बढाउन नसक्दा बैंकहरुले अभावको समस्या समय–समयमा व्यहोरिरहेका छन् । बैंकहरुले कर्जा वृद्धिसँगै निक्षेप आकर्षित गर्न उच्च ब्याजदर घोषणा गर्दा उद्योगीहरु समस्यामा परेका छन् । अर्थविद्हरु एकैपटक ठूलो मात्रामा पुँजी बढाउँदा देखिएका समस्या विस्तारै हल हुने बताउँछन् ।

‘सेयर बजारले अब गति लिन्छ’
चार गुणासम्म पुँजी वृद्धि भएका कारण बैंकहरुले नयाँ निष्कासन, हकप्रद तथा बोनस वितरण ठूलो मात्रामा गरे । फलस्वरुप, सेयर मूल्य समायोजनका कारण बैंकहरुको सेयर मूल्य पनि चार गुणाभन्दा धेरैले ओरालो लागेको छ । उदाहरणका लागि दुई वर्षअघि प्रतिकित्ता ३९०० सम्म रहेको एभरेष्ट बैंकको सेयर मूल्य अहिले साढे ५ सयभन्दा तल छ । तर, बैंकहरुले व्यवसाय विस्तारसँगै नाफामा पनि उच्च वृद्धि गर्दै लगेकाले लगानीकर्ता पुनः राम्रा कम्पनीतर्फ आकर्षित हुने र सेयर बजारले गति लिने सेयर विश्लेषकहरु बताउँछन् ।

प्रकाशित समय १३:२१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु