fbpx
Nepal Mediciti

गृहपृष्ठ लक्ष्यअनुसार कारोबार छैन बैंकमा

लक्ष्यअनुसार कारोबार छैन बैंकमा

कालिकोटको तिलागुफा– १ नाग्मामा ईन्भेष्टमेन्ट बैंकको शाखा स्थापना गरेको एक वर्ष पुग्यो । यस अबधिमा बैंकले बीस करोड बार्षिक कारोबार गर्ने लक्ष्य लिएर अगाडि बढेकोमा त्यसको एक चौथाइ मात्र कारोबार भएको शाखा प्रबन्धक कर्णबहादुर थापाले बताए । उनले भने, ‘भौगोलिक विकटताका कारण पनि जनताहरुको बैंकसम्म पहुँच पुगेको छैन । बैंकसम्म आउन दुई दिनसम्म लाग्ने ठाँउ छन् । त्यति टाढाबाट पैसा ल्याउन असुरक्षा हुन्छ ।’ उनका अनुसार बैंकले घरदैलो कार्यक्रम गरिदियोस् भन्ने अपेक्षा जनताको छ । त्यसलाई पूरा गर्न बंैक असमर्थ छ । धेरैले तिलागुफामै बैंक भए पनि सदरमुकाम तिरै कारोबार गर्छन् । बैंकले एक वर्षमा ५ करोड जतीको कारोबार गरेको उनले बताए । ईन्भेष्टमेन्ट बैंकको तिलागुफा शाखामा दिनमा २० देखि २५ जनाले कारोबार गर्ने उनले बताए ।
त्यस्तै दैलेखको गुराँस गाउंपालिका ४ घोडाबासमा प्रभु विकास बंंैकको शाखा स्थापना भएको पनि एक वर्ष भयो । तर त्यहाँका जनताले बैंकलाई सहकारीको रुपमा बुझेका छन् । शाखाका अप्रेशन ईन्चार्ज भरत खड्काका अनुसार जनताले बैंकमा कारोबार गर्न झन्झट मानेका छन् । उनी भन्छन् ‘४ नम्बर वडानजिकै भएकोले धेरैले बैंक खाता खोल्नु भएको छ । तर केहि टाढाका जनताहरुले बैंकलाई सहकारीको जस्तो व्यवहार गर्नुहुन्छ । कसैले त पैसा भए पनि बैंकमा राख्न झन्झट मान्नुहुन्छ । विकट क्षेत्रमा यातायातको कमीका कारण पनि बैंकसम्म जनताको पहुंच पुगेको छैन ।’ जबसम्म जनताले बैंकिङ्ग कारोबारलाई सहज रुपमा लिंदैनन् तबसम्म स्थानिय तहमा बैंकहरुले लक्ष्य भेटाउन मुस्किल हुने उनी बताउँछन् । दिनमा ५० जनाभन्दा बढिले कारोबार गर्ने प्रभु बैंकमा पनि लक्ष्यअनुसार कारोबार भएको छैन ।
उता सुर्खेतको लेकबेशी ४ दशरथपुरस्थित प्राईम कर्मर्शयल बैंक शाखा कार्यालयमा यातायातको कारण जनताको पहुंच नपुगेको प्रबन्धक उपेन्द्रबहादुर शाह बताउँछन् । ‘जनतालाई बैंकसम्म आएर पैसा राख्न सहज पहुंच चाहिएको छ । बाटोमा चोरी हुने वा आउनै एक दिन लाग्ने ठाउँमा जनताले किन पैसा राख्छन् ? उनी प्रश्न गर्छन् ।’ दिनमा ७० जनाभन्दा बढीले दशरथपुर शाखाबाट सेवा लिने गरेको उनी बताउँछन् । नेपाल सरकारले प्रत्येक स्थानिय तहमा ‘क’ वर्गको बैंकलाई शाखा खोल्न निर्देशन दिएको थियो । भौगोलिक विकटता, जनताको बैंकप्रतिको धारणा तथा विविध कारणले बैंकहरुले लक्ष्य प्राप्त गर्न सकेका छैनन् ।

प्रकाशित समय १७:१३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु