गृहपृष्ठ अप्टिकल फाइबर : देशभर इन्टरनेट पु-याउने महाअभियान

अप्टिकल फाइबर : देशभर इन्टरनेट पु-याउने महाअभियान

telecom-fiber-newskarobar

प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको गल्छीमा मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग (अप्टिकल फाइबर नेटवर्क) निर्माण कार्यको शिलान्यास गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले साबेलले भुँइ खनेर अप्टिकल फाइबर नेटवर्कको सोमबार औपचारिक सुरुवात गरेका हुन् ।

मोवाइल, ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेट लगायतका अत्याधुनिक सञ्चार सेवाहरुलाई उच्च क्षमता र गुणस्तरयुक्त बनाउन र मुलुकभर भरपर्दो र दीगो सञ्चार सेवा उपलब्ध गराउन अभियान सुरु गरिएको कम्पनीले जनाएको छ । मध्य पहाडी लोकमार्गअन्तर्गत प्रदेश १, २ र ३ मा पर्ने विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिएको छ । यसका लागि टेलिकमले ५ वटा कम्पनीसँग निर्माण सम्झौता गरिसकेको छ ।

गत मार्च १२ देखि २२ सम्म विभिन्न चरणमा सम्पन्न सम्झौताअनुसार प्रदेश १ को ५ सय ९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्स प्रदेश २ को १ हजार २८ किलोमिटरको लागि आरोग्य कन्स्ट्रक्सन नेपाल र चाइना रेलवेको ज्वाइन्ट भेन्चर तथा प्रदेश ३ को ५ सय ५५ किलोमिटरका लागि फाइबर बिछ्याउने काम हङकङको सीसीएसआई (चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल)सँग सम्झौता भएको छ । त्यस्तै, डीडब्लूडीएम इक्युप्मेन्टका लागि हङकङको सीसीएसआईसँग सम्झौता भएको छ भने राउटर इक्युप्मेन्टका लागि सिंगापुरको सिटियस कम्युनिकेसन्ससँग सम्झौता गरिएको छ । यसको निर्माण सम्पन्न गर्ने अवधि दुई वर्षको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत चियोभञ्ज्याङदेखि आरुघाटसम्म कुल २ हजार १ सय ७९ किलोमिटर अप्टिकल नेटवर्क जोडिने योजना छ ।

लोकमार्गमा ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याइने टेलिकमले जनाएको छ । त्यसैगरी, लोकमार्गबाट जिल्ला सदरमुकाम जोड्ने अप्टिकल फाइबर ४८ कोर र विभिन्न नगरपालिका जोड्ने अप्टिकल फाइबर २४ कोरका हुनेछन् । उक्त सडकखण्डको उत्तर–दक्षिण क्षेत्रमा पर्ने प्रदेश नम्बर १, २ र ३ अन्तर्गतका ३५ जिल्लाका सदरमुकाम तथा नगर र गाउँपालिकाहरुमा अप्टिकल नेटवर्क विस्तार गरिनेछ । मुलुकभरका जिल्ला सदरमुकाम र यसमार्फत सम्पूर्ण गाउँपालिका, विद्यालय र स्वास्थ्य चौकी आदिमा ब्रोडब्यान्ड नेटवर्क पुर्याउने सरकारी नीति अनुरुप अप्टिकल फाइबर बिछ्याउने कार्य द्रूत गतिमा अघि बढाइएको कम्पनीले जनाएको छ ।

सोमबार नै प्रदेश १ अन्तर्गत धनकुटाको हिलेमा र प्रदेश ३ अन्तर्गत सिन्धुलीको खुर्कोटमा मध्यपहाडी लोकमार्ग सूचना महामार्ग निर्माण कार्य सुरु भएको छ । गल्छीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्ग सूचना महामार्गको निर्माण डिजिटल नेपाल बनाउने कार्यको एक अभिन्न अंग भएको बताए । फोनको मात्र नभएर मोबाइल र इन्टरनेटको समेत गुणस्तरीय सेवा सहज रुपले मुलुकभर पुर्याउने उद्देश्यले अप्टिकल फाइबर बिछ्याउने कार्यलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइएको जानकारी गराउँदै उनले भने, ‘सञ्चार क्षेत्रमा यो ठूलो फड्को हो ।’

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना महामार्गको निर्माणले उच्च गुणस्तरका अत्याधुनिक सञ्चार सेवाको उपलब्धतासँगै टेलिमेडिसिन, डिस्ट्यान्स लर्निङ, इ–कमर्स, इ–एग्रिकल्चर, इ–टुरिज्म र इ–बैंकिङ सेवामा समेत सूचना प्रविधिको वृहत्तर प्रयोग गर्न सकिने बताए । हाल जम्मा ५६ प्रतिशत जनतामा पुगेको इन्टरनेट पहुँच सूचना महामार्गको निर्माणसँगै सबै नेपालीसम्म पुग्ने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आजको युग सूचना र सञ्चारको युग भएकाले सूचना महामार्गको निर्माणले समृद्धि हासिल गर्न ठूलो भूमिका खेल्ने विचार राखे । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सूचना र सञ्चार महामार्गको निर्माणले मुलुकलाई डिजिटल युगमा रुपान्तरण गर्ने बताए । ‘सूचना महामार्ग र फोरजी नेटवर्कले नेपाललाई डिजिटल अर्थतन्त्रको युगमा प्रवेश गराउनेछ,’ उनले भने । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सूचना महामार्गको निर्माणबाट मुलुकको सर्वोपरी विकास र आधुनिकीकरणमा सहयोग पुग्ने बताए ।
त्यस्तै, नेपालका लागि चिनियाँ राजदूत होउ याङ छीले सूचना र सञ्चारका क्षेत्रमा नेपाल र चीनबीच फोरजी विस्तारदेखि सूचना महामार्ग निर्माण कार्यमा भएका सहकार्यबाट दुई मुलुकबीचको सम्बन्ध थप मजबुत भएको बताए ।

प्रकाशित समय ०७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु