fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ कृषि मेला सम्पन्न : ५० हजारले गरे अवलोकन

कृषि मेला सम्पन्न : ५० हजारले गरे अवलोकन

krishi mela-newskarobar

प्रदेश पाँच भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा सञ्चालन भएको कृषि मेला सकिएको छ । मेलामा झण्डै ५० हजार जनाले अवलोकन गरेको र ४० लाखको कारोवार भएको बुटवल आयोजक संघका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक खिमबहादुर हमालले जानकारी दिए । उनले कृषिलाई प्रविधि र किसानसँग जोड्न र व्यावसायिक विकासलाई जोड दिएर मेला आयोजना गरिएको बताए ।

मेलाको समापन गर्दै बुटवल नगरपालिकाका प्रमुख शिवराज सुवेदीले कृषिको व्यावसायिक विकास बिना मुलुकको समृद्धि सम्भव नभएको बताए । उनले कृषिको व्यावसायिक विकासका लागि नगरपालिका लागि परेको बताउँदै बुटवलमा बृहत स्तरको थोक मन्डि निर्माण गरिने र आन्तरिक तथा बाह्य मुलुकबाट समेत आयात भएको तरकारी तथा फलफूल ग्रेडिङ गरेर देशभर बिक्री वितरणको प्रवन्ध मिलाइने बताए ।

मेलामा सहभागी स्टलमध्ये लुम्बिनी हाइड्रो पोनिक्स प्रथम, प्रेम निशा अल्लो धागो तथा तयारी पोसाक र गुप्ता नर्सरी द्वितीय, कृषि संग्रहालय र माडी टर्की फार्म तृतीय तथा देउराली प्राविधिक शिक्षालय, लुम्बिनी बोर्डिङ, एग्रो पार्क एण्ड रिसर्च सेन्टर, नेपाल ट्रेड होस्ट प्रालि र नेसनल रेफ्रिजरेटर सान्त्वना भएको मूल्यांकन समितिका सदस्य वसन्त ढकालले बताए । सहभागीमध्यबाट उत्कृष्ट भएका ती स्टललाई सम्मान सहित पुरस्कार प्रदान गरिएको छ ।

मेलामा कृषि उत्पादनतर्फ सहभागी भएका ८६ वटा स्टललाई विधागत रुपमा ११ विधामा विभाजित गरी प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय छनौट गरी पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटाले कृषि तथा पशुपालन व्यबसाय गर्न चाहने किसानका लागि प्रदेश सरकारले किसानलाई विशेष व्यवस्था गरेको बताउँदै त्यसबाट लाभ लिन किसानलाई आग्रह गरे ।

कार्यक्रममा प्रदेश पाँच भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालयका निर्देशक युगलकिशोर तिवारी, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हिराप्रसाद श्रेष्ठ, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनकुमार श्रेष्ठ, रुपन्देही व्यापार संघका बरिष्ठ उपाध्यक्ष यमलाल लोहनीलगायतले बोलेका थिए । मेलामा कृषि केन्द्रित अन्तरविद्यालय स्तरीय वादविवाद, वक्तृत्वकला तथा कवितावाचन प्रतियोगिता, दुग्धपान प्रतियोगिता, मत्स्य बल्छी प्रतियोगिता तथा विभिन्न गोष्ठी र माटो परीक्षण शिविर सञ्चालन गरीएको थियो ।

प्रकाशित समय ०७:२९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु