fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ नेपाली कला, कला ग्यालरी र चेतना

नेपाली कला, कला ग्यालरी र चेतना

tirtha-niraula-newskarobar

क्यानभासहरु झुन्ड्याइएका भित्ताहरु । आगन्तुकहरुको भीड । प्रमुख अतिथिको दर्बिलो कलाप्रेमी भाषण । जताततै सञ्चारमाध्यमहरुको ‘फ्ल्यास आउट’ अनि ‘कक्टेल पार्टी’ वा चियाचमेना ।

ग्यालरीमा घटित यो माहोल कला उद्घाटनको प्रथम दिनको हो । प्रायः यसरी नै राजधानीका कला ग्यालरीहरुले कला प्रदर्शनीहरुको औपचारिक कला प्रदर्शनी आरम्भ गर्छन् र कलामार्फत कलाकारको शैलीगत भावना, विषयगत अभिव्यक्ति वा प्रायोगिक विचार निहित सिर्जनाहरुलाई सार्वजनिक गर्छन् । कलाकारका अन्तर्भाव वा उद्वेगलाई जनमानसपटलमा सामीप्य कायम गराउने थलो, कला ग्यालरीलाई एकैसाथ नेपालीमा भन्नुपर्दा ‘कला दीर्घा’ भनिन्छ ।

कलाक्षेत्रको विकासमा कला ग्यालरी ज्यादै महत्वको थलो हो । यसको विकासको स्वरुप, सिंगो कलाक्षेत्रको विकासको एक पाटो हो भने अर्को पाटो कलाकार, कला संस्थाहरु, एकेडेमीलगायत कला लेखकीय पक्षका कलावाङ्मय समाजहरु हुन् । नेपाली कलाक्षेत्रको वर्तमान बजारमा, कलाकारहरुको उत्थान, यिनीहरुको ‘प्रमोसन’, कला बेचबिखानलगायत कला प्रचारको हित ग्यालरीहरुको विकास–विस्तार, जीवन र संरक्षणमा अडेको छ ।

विकसित देशहरुमा यस्ता दायित्वहरु ग्यालरीहरुको जिम्मेवारीको विषयमात्र हुँदैन । त्यहाँ यी कार्यहरुका निम्ति कला ‘प्रमोटर’, ‘क्युरेटर’ र ‘अक्सन’ प्रणालीहरुको नै अग्रणी भूमिका हुने गरेको पाइन्छ । तर, हामीकहाँ यस्ता संयन्त्रहरुको विकास भई नसकेको विकल्पमा ग्यालरीहरु नै आज जिम्मेवारी सम्हाल्ने मुली र महत्वको केन्द्रबिन्दु बनेका छन् । नेपाली समसामयिक कला आज उत्तर आधुनिक कालमा प्रवेश गरिसकेको छ । नेपाली कलाकारहरु पुरातन चित्रकला– थाङ्का, मण्डलादेखि उत्तर आधुनिक कालका ‘पप’ शैली, ‘इन्स्टलेसन आर्ट’ (प्रतिस्थापन कला), ‘पफर्मेन्स आर्ट’ आदिहरुका अवस्थासम्म आइपुगिसकेका छन् । आधुनिक कलामा प्रयोग नै प्रयोगको धारणा जाग्दो छ । विदेशी कलासँग स्वदेशी र स्वदेशीसँग विदेशी अनुभव बढ्न थालिसकेको आजको परिप्रेक्षमा ग्यालरीहरुको उपस्थिति र समृद्धि ज्यादै आवश्यकीय हुन्छ ।

यद्यपि, नेपालमा ग्यालरीप्रतिको समृद्धिको मनोभावना उही पुरानै यथास्थितिवादी वृत्ति र फुस्रो आदर्शमै केन्द्रित रहेकाले अझै ग्यालरीहरुले साँचो समृद्धिको फुर्को समात्न सकेका छैनन् । स्वयं कलाक्षेत्र पनि ग्यालरीहरुको अपरिहार्यताको बोध अझै हुन नसक्दाको पीडादायक यथार्थबाट मुक्त बन्न सकेको छैन । र, आज यिनीहरुको मुक्तिको नैसर्गिक बाटो भनेको ग्यालरीहरुको आन्तरिक मर्म (नियमित कला बिक्री नहुनुको पीडा) स्थापना, विस्तार, भएकाको संरक्षण र सहुलियतका सन्दर्भहरुमा हामी सचेत बन्दै उत्तर आधुनिक मान्यताहरुका खुराकहरुलाई मूर्तता दिँदै जानु हो ।

नेपालका ग्यालरीहरुको परिस्थितिजन्य पीडादायक धरातलको चुरो भनेको पुरातनकलामा धनी देश भनेर चिनिने नेपालको राजधानीबाहेक मोफसलमा कुनै किसिमका कला ग्यालरीहरु अझै खुल्न नसक्नु हो । यहाँसम्म कि ‘स्कुल अफ वाटर कलर’ भनेर चर्चित रहेको कलाको दोस्रो राजधानी पोखरा र २०३३ देखि नै पूर्वाञ्चलमा कला गतिविधि सञ्चालन गर्दै आएको धरान र त्योभन्दा अघिदेखिको विराटनगरसमेतमा कला प्रदर्शनीकै निम्ति भनेर कुनै किसिमका ग्यालरीहरु अझसम्म स्थापना हुनसकेका छैनन् ।

मोफसलको कुरो मात्र होइन, नेपाली कलाकारहरुको फलदायी र अवसरको बजार काठमाडौंमा पनि सोचेजति मनग्ये ग्यालरीहरु छैनन् । भएकाहरुको पनि संख्यात्मक तथ्यांकहरुको निश्चित विवरण पाइँदैन । कला पसलहरुबाहेक नितान्त ग्यालरीहरुको संख्यालाई तथ्यांकमा समेट्न सक्ने बाध्यात्मक व्यवस्था (दर्ता प्रणाली वा अन्य केही) र तथ्यांक समेट्ने स्वायत्त निकायको अभावले पनि यो अनिश्चितता खडा भएको हुनसक्छ ।

चलन र चर्चाको आधारलाई संख्या बनाउँदा यहाँ जम्मा बीस–बाईसको हाराहारीमा ग्यालरीहरु सार्वजनिक भएका उदाहरण छन् । यद्यपि, यी मध्ये पनि कतिपयले आज बन्दको हविगत भोग्नुपरेको कटु यथार्थ हाम्रो सामु छ भने सञ्चालितहरु पनि अनिश्चिन्तता र आर्थिक निर्भयताबाट अछुतो रहन सकेका छैनन् । विदेश घुमेर अनुभव संगालिसकेका कलाकारहरु भन्छन्, ‘विदेशमा सबै ग्यालरीहरु घुमिसक्दा वर्षौं बित्छ । त्यहाँ ग्यालरीहरुको आंकडा राखेर साध्य हुँदैन तर नेपालमा ग्यालरीहरु औंलामा गन्न सकिन्छन् । यो नेपाली समसामयिक कलाक्षेत्रको निम्ति निरासाजनक पक्ष हो ।’

नेपाली समसामयिक कलाको विकासको प्रारुप २०१३ हुँदै २०१८ बाट मात्र व्यवस्थित भएकोले ग्यालरीहरुको इतिहास उति लामो नदेखिएको हुनसक्छ । वरिष्ठ चित्रकार गेहेन्द्रमान अमात्य सुरुकालमा एक विदेशी महिलाको सक्रियतामा ‘म्याक्स’ नामक ग्यालरी २०२६ सालमा राजधानीमा खुलेको थियो । त्यसैताका पृथ्वी आर्ट ग्यालरी खोली सञ्चालन गरेका थिए, वरिष्ठ चित्रकार उत्तम नेपालीले । यस्तै, अर्का एक विदेशीको पहलमा २०२८/२९ सालतिर अर्को ग्यालरी खुल्यो, जसलाई ‘पार्क’ भनियो । पछि यसैलाई वरिष्ठ चित्रकार रामानन्द जोशीले चलाए । यो अहिले पनि उनका परिवारहरुबाट सञ्चालित छ । हालै यसमा कलाकार जोशीको म्युजियम पनि स्थापना गरिएको छ ।

कला गतिविधिको सन्दर्भलाई लिएर विगतको समयमा ‘म्याक्स’ले जस्तो सकारात्मक चर्चा कमायो, त्यस्तै चर्चित इतिहास नेपालीको पृथ्वीले कमाएको थियो । यसले वरिष्ठ कलाकार उत्तम नेपालीलाई धेरै माथि उठायो । कला प्राध्यापक मदन चित्रकार भन्छन्, ‘पृथ्वीमार्फत उत्तमका धेरै काम जनमानसबीच पुगे, जुन कामको चर्चाले उनलाई आजसम्म माथि उठाएको छ ।’

पछिल्ला दिनहरुमा किरण मानन्धरको ‘पल्पसा’ लगायत क्रमशः ‘बेम्बो’, ‘एभरेस्ट’ आदि खुले तर ‘पार्क’ बाहेक यी सबै ग्यालरी बन्द भएर गए । हाल व्यक्तिगत हैसियतमा चलिरहेको बबरमहलको सिद्धार्थ आर्ट ग्यालरी २०४५÷४६ सालताका चर्चित रहेको सृजना ग्यालरी (हाल निजीस्तरको कला क्याम्पसको रुपमा परिमार्जित), लाजिम्पार्ट र पुलचोकको ‘पार्क’ ग्यालरी, दरबार मार्गको ‘आर्ट सप ग्यालरी’, लाजिम्पाटकै ‘ग्यालरी नाइन’ र पाटनमा अवस्थित ‘सिंह आर्ट ग्यालरी’ लगायत संस्थागत हैसियतमा नेपाल ललितकला संस्था (नाफा), नेपाल कला परिषद आदिहरु नियमित कला प्रदर्शनी गर्दै आएका ग्यालरीमध्येका हुन् । त्यसो त, जे आर्ट ग्यालरी, ‘लाइट एन्ड सेड’, बुद्ध, मोक्ष, ‘इन्डिगो’ तथा केही नयाँ थपिँदै गएका ग्यालरीको सक्रियतालाई पनि कम महत्वको श्रेणीमा राख्न मिल्दैन ।

आज यी सबै चालू व्यक्तिगत ग्यालरीहरु पनि अनिश्चित र न्यून आर्थिक उपार्जनको प्रभाव घेराबाट मुक्त हुन सकिरहेका छैनन् । यो स्थितिमा यी ग्यालरीहरुको पनि विगतका ग्यालरी जस्तै हविगत नहोला भन्न सकिन्न । कलाकार एवं ठमेलस्थित व्यक्तिगत ग्यालरीकी सञ्चालिका सरिता डंगोललाई ग्यालरी कस्तो चल्दैछ भन्ने प्रश्न गर्दा उनी भन्छिन्– ‘खै के भनौं ! घरको पैसाबाट चलाइरहेकी छु । सधैं यस्तै मन्दको अवस्था रहिरहे सधैं धान्न सकिन्न र पुराना ग्यालरी जस्तै बन्द नहोला भन्न सकिन्न ।’

त्यस्तै, जे आर्ट ग्यालरीका सञ्चालक शुभरत्न भन्छन्, ‘कलाक्षेत्रको विकासमा टेवा पुर्याउन हामीले नाजुक घडीमा पनि ग्यालरी चलाइराखेका हुन्छौं ।’ मूलतः नेपाली बजारमा बल्लतल्ल खुल्ने गरेका ग्यालरीको यो अवस्थाका कारणको मूल जड नै नेपालीमा अझै कलाचेतना फैलन नसकी कलाको व्यावसायिकता सुनिश्चित र नियमित हुन नसक्नु हो । व्यक्तिगत ग्यालरीहरुको सरोकारको सम्पूर्ण पाटो कलाकार र कलाक्षेत्रको नितान्त सेवामा मात्र सीमित हुन्न । यसको आन्तरिक जीवन कलाको व्यावसायिकतासँग जोडिएको हुन्छ । यही सरोकारमा यिनीहरुको खुल्ने, बन्द हुने वा चालू रहने स्थिति छुपेको छ ।

प्रमुखतः यिनीहरुले नियमित कला बेच्न सके भने मात्र टिक्न सक्ने अवस्था रहन्छ, नत्र बन्द हुनुपर्छ । प्रायः ग्यालरीमा एक चित्र बिक्रीबाट प्राप्त हुने तीस–पैंतीस प्रतिशत कमिसन वा ग्यालरी भाडाबाट प्राप्त आम्दानीको जोडको जम्मा पुँजी नै यिनीहरुको तीन सय पैंसट्ठी दिनहरु धान्ने मेसो हुन् । भाडामा प्रदर्शनी गर्ने थोरै ग्यालरीलाई छाडेर यस्ता ग्यालरीमा बिक्रीकै आधारमा आम्दानी बन्ने र कला बिक्री नभए कलाकारको कला बिक्रीलगायत ग्यालरीको कमिसन नै हुस्सिन्छ । यही क्रम बन्दै जाँदा घरको बहाल तिर्न नसकी बन्दको सिकार बन्नुपर्छ । यही वास्तविकताको धरातलमा आज नेपालका ग्यालरी बामे सरिरहेका छन् ।

यसर्थ, एकेडेमीको दृष्टि ग्यालरीहरुको आशातीत आँगनमा पुग्न जरुरी छ । आगामी दिनमा यिनीहरुलाई निरन्तर बाँच्न सक्ने विशेषाधिकारको सहुलियत स्थापित गरिदिँदै संस्थागत सुदृढीकरण गर्ने, विस्तार गर्ने र बेलैदेखि नेपालमा कला चेतना फैलाउने सञ्जाल निर्माणतर्फ एकेडेमीलगायत सम्बन्धित निकाय र कलाकारहरु संवेदनशील बन्न जरुरी छ । यसको उत्थान, आन्तरिक पीडा र मर्मलाई हामी सबैले आत्मसात गर्नसकेमात्र हामीले नेपाली कला क्षेत्रको विकासको हित चाहेको अर्थले सार्थकता पाउन सक्छ ।

(निराैला वरिष्ठ चित्रकार एवं कला समीक्षक हुन् ।)

tirthaniraula@gmail.com

प्रकाशित समय १३:२२ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु