fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ सत्तारूढ दलका नेता भन्छन्- चुनावी प्रतिबद्धता पूरा गरिछाड्छौँ (भिडियाेसहित)

सत्तारूढ दलका नेता भन्छन्- चुनावी प्रतिबद्धता पूरा गरिछाड्छौँ (भिडियाेसहित)

सत्तारुढ दलका नेताहरुले निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), काठमाडौं ५ ले हाँडीगाउँमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सत्तारुढ दलका नेता तथा जनप्रतिनिधिहरुले जनताको विश्वास कायम राख्ने बाचा गरेका हुन् ।

उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले मुलुक समृद्ध बनाउने अठोटका साथ सरकारले काम गरिरहेको बताए । ‘हामी समृद्ध नेपाल निर्माण गर्ने अभियानमा छौं,’ उनले भने, ‘यस क्रममा केही कमजोरी भएका हुन सक्छन्, त्यसमा जनताले खबरदारी गर्नुपर्छ, तर निर्वाचनमा जे भनेका थियौं, त्यसबाट विचलित नभइ अघि बढ्नेछौँ ।’

कतिपय काम कहाँबाट कसरी सुरु गर्ने भन्नेमा सरकार अलमलिएको उनले स्वीकारे । ‘केही काम अलि जटिल देखिएका छन्, त्यसलाई कसरी अघि बढाउने भन्नेबारे सरकार थोरै अलमलिएकै हो,’ मन्त्री पोखरेलले भने, ‘तर यो अन्योल धेरै समय रहँदैन ।’ उनले जनताको शीर झुक्ने गरी कुनै गतिविधि नगर्ने प्रतिबद्धता पनि जनाए ।

कार्यक्रममा प्रदेश ३ (क) का सांसद नारायण सिलवालले कम्युनिस्ट नेतृत्वको सरकारले मुलुकलाई समृद्धिको दिशामा अघि बढाइसकेको बताए । समृद्ध नेपाल निर्माणको यात्रा निकै चुनौतिपूर्ण भएकाले सुरुमा स–साना अवरोध हटाउने काममा सरकारले समय खर्चेको उनको स्पष्टोक्ति छ । ‘नेपाल समृद्ध बन्छ,’ सिलवालले भने, ‘सरकारले कहिँ कतै कमजोरी गर्यो भने जनताले खबरदारी गरिदिनुपर्यो, मुलुकको इज्जत र भावी सन्ततीका लागि भए पनि नेपाललाई समृद्ध नबनाइ हामीलाई सुख छैन ।’ सिलवालले आफू निर्वाचित भएपछि आफ्नो क्षेत्रका लागि गरेका कामबारे काठमाडौं ५ का जनतालाई जानकारी गराएका थिए ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मेलम्ची आयोजना र सडक विस्तारको कामले आफूलाई काम गर्न अवरोध भइरहेको बताए । यी दुई काम सकिएपछि महानगरले काठमाडौंलाई स्वच्छ बनाउने उनको भनाइ थियो । ‘अहिले हामीले जति नै काम गरे पनि देखिएको छैन, किनकि एकातिर मेलम्चीको पानी काठमाडौं ल्याउने काम भइरहेको छ, अर्कोतिर ठूला सडकको काम भइरहेको छ,’ उनले भने, ‘यी दुबै काम छिटो सकिए हामीले अघि बढाएका काम प्रभावकारी रुपमा अघि बढ्नेछन् ।’

कार्यक्रममा स्थानीय नेताहरुले जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न शीर्ष नेतृत्व र सरकारलाई आग्रह गरेका थिए । काठमाडौं ५ का नेता वीरेन्द्र प्रजापतिले मुलुक बनाउने अभियानमा सबै जनतालाई समेटेर अघि बढ्न सुझाव दिए । नेकपा नेता गणेश श्रेष्ठले सरकारले गरेका कामबारे जनतालाई जानकारी गराउँदै गर्न आग्रह गरे । यस्तै नेतृ सुशीला प्रजापतिले जनतामाझ गरेका बाचा पूरा हुने गरी काम गर्न मन्त्री पोखरेलमार्फत सरकारको ध्यानाकर्षण गराइन् । कार्यक्रममा काठमाडौं ५ की प्रतिनिधिसभा सदस्य सीता लामा, वडा नम्बर ५ का वडाअध्यक्ष रमेश डंगोलसहित काठमाडौँ महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, स्थानीय नेता पनि सहभागी भएका थिए ।

 

प्रकाशित समय १९:०९ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु