गृहपृष्ठ सुनका नक्कली गहनामा पारो धातुको व्यापक प्रयोग, क्यान्सरको जोखिम उच्च

सुनका नक्कली गहनामा पारो धातुको व्यापक प्रयोग, क्यान्सरको जोखिम उच्च

नेपालमा वार्षिक साढे ३२ हजार किलो पारो उत्सर्जन, सुनको लेपनमै वार्षिक १२ हजार किलो पारो खपत

nakkali-gold-newskarobar

के तपाईं सुनजस्तै देखिने नक्कली गहना वा सुनको लेपन (गोल्ड प्लेटिङ) गरेका गहना लगाउनुहुन्छ ? सावधान ! ती गहना बनाउन मर्करी अर्थात् पारो प्रयोग गरिएको हुन्छ, जुन क्यान्सरको मुख्य कारण बन्नसक्छ । नेपालमा पारोको अत्याधिक प्रयोग सुनको लेपनमा हुने गरेको हालै वन तथा वातावरण मन्त्रालयमा अनुसन्धानकर्ताहरूले बुझाएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मर्करी अर्थात् पारो चाँदीजस्तो देखिने तरल तर विषालु धातु हो । पारोको सम्पर्कमा लामो समयसम्म रहँदा यसले क्यान्सर उत्पन्न गराउने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।सामान्यतया पारो हाम्रो शरीरको तापमान नाप्ने थर्मामिटर वा ब्लडप्रेसर नाप्ने मेसिन वा केही मेडिकल उपकरणमा मात्र हुनेजस्तो देखिए पनि यो हाम्रो जनजीवनको वरिपरि थुप्रिएको र हरेक वर्ष व्यापक अनुपातमा उत्सर्जन हुने गरेको पाइएको छ ।

एक फरक अध्ययनअनुसार पारो चढाइएका गहना लगाउँदा त्यसको प्रभावले महिलाहरूमा थाइराइडको समस्या बढाउँदै लगेको देखाउँछ । गर्भावती महिला र ससाना बालबालिकाहरूमा पारोले छिट्टै नकारात्मक असर पार्ने बेलायती वैज्ञानिकहरूको अध्ययनले देखाएको छ ।
वन तथा वातारण मन्त्रालयले गरेको अध्ययनअनुसार नेपालमा मेडिकल र अन्य क्षेत्रबाट गरी वार्षिक १९ हजार ६१५ किलो पारो धातु उत्सर्जन हुन्छ भने सुनको लेपनका क्रममा मात्रै १२ हजार ८२५ किलो पारो धातु उत्सर्जन हुने गरेको छ।

नेपालबाट सुनका जलप लगाएका मूर्ति र अन्य हस्तकलाका सामग्रीहरू चीन, भारत, थाइल्यान्ड, श्रीलंका, भुटानलगायतका देशहरूमा निर्यात हुने गरेको छ । कुल १ हजार २५५ दशमलव ३३ मेट्रिक टन सुनको जलप लगाएर १ लाख ९० हजार २१२ मूर्ति बनाउँदा १२ हजार ८२५ किलो पारो धातु उत्सर्जन भएको हो ।

के केमा हुन्छ पारो ?

पारो धातु थर्मामिटर, ब्लडप्रेसर जाँच्ने मेसिनदेखि दाँत सफा गर्ने पानी, केही बेट्रीहरू, इलेक्ट्रिकल उपकरण, फ्लुरोसेन्टयुक्त बत्तीहरू, केही विशेष किसिमको आयुर्वेदिक औषधिदेखि लिपिस्टिकसम्म प्रयोग हुन्छ । नेपालले सुनको लेपन गर्नेदेखि चम्काउनेसम्मका काममा निकै पारोयुक्त पदार्थ प्रयोग गर्ने गरेको अध्ययनले खुलाएको छ । यसबाहेक शैक्षिक प्रयोजनका लागि समेत पारो धातुको आयात र प्रयोग हुने गरेको छ ।

आयुर्वेदिक र होमियोप्याथिक दबाइमा समेत पारो धातु प्रयोग हुने गरेको पाइएको छ । आर्थिक वर्ष २०७३/७४ मा नेपालभर २४३.६५ केजी पारो धातुयुक्त आयुर्वेदिक औषधि बनाइएको थियो । सिंहदरबार वैधखानामा उक्त वर्ष ३०.११ किलो तरल मर्करी र कालाजी (मर्कुरस सल्फाइड) सञ्चित मौज्दातमा थियो भने नेपालका अन्य दस आयुर्वेदिक औषधि उत्पादकले पारोयुक्त रस र भष्महरू उत्पादन गरेको अध्ययनमा उल्लेख छ ।

अस्पतालहरूबाट उत्सर्जन हुने फोहरहरू (मेडिकल वेस्ट)मा बाहेक खुल्ला फोहर जलाउँदा, बायोमासमा आधारित ऊर्जा उत्पादन, मानव शब जलाउँदा, सिमेन्ट उत्पादन गर्दासमेत नेपालमा सैयौं किलो पारो उत्सर्जन भइरहेको यो अध्ययनले देखाएको छ ।

पारोका प्रतिकूल प्रभाव

पारो श्वासप्रश्वास वा छालाका माध्यमबाट मानव शरीरभित्र प्रवेश गरेर शरीरका कोषहरू, पाचन तन्त्रदेखि शरीरको रोग प्रतिरोधक क्षमता कमजोर गराउनेदेखि फोक्सो र मृगौलासम्म असर पार्छ । जमिनमा उत्सर्जित पारो वा पानीमा उत्सर्जित पारो अन्न वा तरकारी, फलफूलका बोटविरुवाले ग्रहण गरेर हाम्रो शरीरको पाचन प्रणालीसम्म पुग्ने खतरा रहन्छ । नेपालका उत्सर्जित पारोमध्ये ४०० किलोभन्दा बढी पारो जमिनमै नष्ट गर्ने गरिएको छ ।
– पारोले शिशुहरूको विकासमा असर पार्छ
– यसले शिशुहरूको बढ्ने क्रम रोक्छ र दिमागमा असर पार्छ
– पारोको नियमित सम्पर्क/संक्रमणमा रहनेहरूको रक्तचाप अनियन्त्रित हुन्छ ।
– हेर्ने, सुन्ने क्षमतामा असर पार्छ
– पारोको तत्काल असरले छाला पोल्ने, बमिट हुने अवस्था रहन्छ ।

को-कोसँग छ पारो ?

अहिले नेपालका प्रायः सबै अस्पतालहरूमा थर्मामिटर, ब्लडप्रेसर जाँच्ने मेसिनका अलावा दाँतको उपचार गर्ने क्लिनिकदेखि वीर अस्पतालसम्म, विज्ञानको पढाइ हुने कलेजका ल्याबदेखि नेपाली सेनासम्म पारो असुरक्षित ढंगले राखेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयको अध्ययनअनुसार सिंहदरबार वैधखानामा २०७३/७४ मा ३०.११ किलो तरल मर्करी र कालाजी (मर्कुरस सल्फाइड) मौज्दात छ भने नेपाली सेनासँग १४ किलो, वीर अस्पतालसँग २०० ‘डेन्टल मर्करी एमाल्गम क्याप्सुल’ सुरक्षित रुपमा राखिएको छ । एक ‘डेन्टल मर्करी एमाल्गम क्याप्सुल’ मा १२०० मिलिग्राम पारो धातु हुन्छ ।

नेपालले मर्करी धातुमाथि नियन्त्रणका लागि मिनामाता सम्झौता कार्यान्वयनका क्रममा आवश्यक संयन्त्र, संरचना र कानुन निर्माणका सिलसिलामा यो अध्ययन गराएको हो ।

प्रकाशित समय १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु