fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ सहिदको सम्झनामा स्मारक निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

सहिदको सम्झनामा स्मारक निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा सहिद स्मारक निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेको छन् ।

मंगलबार मुख्यमन्त्री कार्यालयमा प्रदेश प्राप्तिका लागि भएको आन्दोलनमा भएका घाइते अपाङ्गहरुको मागपत्र बुझ्दै मुख्यमन्त्री शाहीले  प्रदेश प्राप्तिका लागि सहिद भएका योद्धाहरुको नाममा सहिद स्मारक बनाउने बताए ।

‘यो प्रदेश प्राप्तीको मुख्य देन सहिद र तपाई घाइते योद्धाहरुको हो,’ मागपत्र बुझ्दै मुख्यमन्त्री शाहीले भने, ‘तपाइहरुका माग जायज छन्, सरकार माग सम्बोधनका लागि गम्भीर छ ।’

२०७२ साउन २५ गतेको प्रदेश प्राप्तिको आन्दोलनमा घाइते भएकाहरुले अझै पनि उपचार तथा हवाई यातायातको खर्च नपाएको भन्दै शाहीसँग गुनासो गरे । उनीहरुले घाइते भइसकेपछि उपचारका लागि हवाईजहाज चार्टर समेत आफन्तहरुले गरेको र चार्टरको भाडा पनि अहिलेसम्म सरकारले भुक्तानी नगरेको भन्दै उक्त भाडा भुक्तानीको माग गरेका छन् ।

घाइतेहरुले मुख्यमन्त्री शाहीसँग थप उपचारको व्यवस्था, आफु र परिवारको योग्यता बमोजीम जिविकोपार्जन तथा रोजगारी र छोराछोरीको निःशुल्क शिक्षाको समेत माग गरे ।

प्रदेश संरचना निर्माणका क्रममा तत्कालीन सरकारले भेरी, कर्णाली र राप्तीका २ जिल्ला र सुदुरपश्चिमका सेती र महाकाली सहित एउटै प्रदेश निर्माण गर्ने निर्णय गरेको थियो । भेरी, कर्णाली र राप्तीका २ जिल्ला सहितको छुट्टै प्रदेशको माग गर्दै हरेक जिल्लामा आन्दोलन चर्किएको थियो ।

सोही आन्दोलनका क्रममा सरकारले बल प्रयोग गर्दा सुर्खेतमा ४ जनाको ज्यान जानुको साथै धेरैको संख्यामा घाईते तथा अपाङ्ग हुनुपरेको थियो ।

प्रकाशित समय २०:०८ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु