fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ बाँधका कारण नेपालका रैथाने माछा संकटमा

बाँधका कारण नेपालका रैथाने माछा संकटमा

नेपालका २१ थरि माछा संकटको सूचीमा

Impact of the Dams in Fish_NewsKarobar

ताप्लेजुङ आङ्दाङ्मेका एमके थेबेले आफूले बाल्यकालदेखि तमोरमा समाउँदै र खाँदै आएको तीते असला यसपाला पाएनन् । “तमोरमा आजकल तीते असला पाउने छाडेजस्तो छ, पाए पनि थोरै,फाट्टफुट्ट मात्रै,” थेबेले सुनाए, “तीते असलामात्रै होइन, अर्को रातो असला पनि तमोरमा भेटिन छाडेको छ ।”

थेबेले उल्लेख गरेको तीते असला र रातो असला (कोल्डवाटर हिमालयन ट्राउट) दुवै लुप्त प्रजातिका माछाहरू हुन् । तीमात्र होइन, नेपालका नदी, खोलाहरूमा पाइने दर्जनौं प्रजाति अहिले लुप्त भइसकेका छन् । विभिन्न संस्थाहरूले गरेको अध्ययनअनुसार नेपालमा २३० प्रजातिका माछाहरू पाइने गरेकोमा १६ प्रजातिका माछा रैथाने अर्थात् नेपालमा मात्र पाइने विशिष्ट प्रजातिका हुन्, तीमध्ये ३ प्रजातिका माछा रारा दहमा मात्र पाइन्छ भने १३ प्रजातिका माछा अन्य नदी–खोलाहरूमा संकटापन्न अवस्थामा छन् ।

नेपालमा पाइने २३० प्रजातिका माछामध्ये २१ प्रजातिका दुर्लभ माछालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन)ले अति जोखिमका र संरक्षण गर्नुपर्ने भनेर रातो सूचीमा राखेको छ, जसमा दुर्लभ डल्फिन/सोंस (ग्यांगेटिक डल्फिन), तीते असला, असला, सहर, हल्लुँडे, गडेँल, गौचलगायतका माछा छन् । नेपालमा सोंस (ग्यांगेटिक डल्फिन) कोसी र कर्णाली नदीका अलावा मोहना र महाकाली नदीमा पनि पाइन्छ । अत्याधिक चोरीसिकारीका कारण यी दुर्लभ डल्फिन संकटको अन्तिम किनारामा आइपुगेका छन् ।

बाँध : मुख्य दुश्मन

धेरै पहिला कोसी, नारायणी, गण्डकी, महाकालीलगायतका नदीहरूमा ‘फ्रेसवाटर डल्फिन’ प्रशस्तमात्रमा पाइने गरेको जबजब यी नदीहरूमा यी ठूला बाँध बन्न थाले त्यसपछि डल्फिनको संख्या घटेको हो । फ्रेसवाटर डल्फिन वा ग्यांगेटिक डल्फिन, निकै बसाइ सरिरहनु पर्ने प्रजातिका जलचर हुन् । अध्ययनकर्ताहरूका अनुसार पहिला सप्तकोसीको बाँधभन्दा माथि पनि प्रशस्तमात्रामा यस्ता डल्फिन पाइने गरेकोमा अहिले १५ भन्दा पनि कमको संख्यामा कोसीको बाँधमुनि खुम्चिएका छन् । केही समयअघि महाकाली नदीको एउटा भंगालोमा स्थानीय भाषामा सोंस भनिने केही डल्फिन देखिए पनि मूल नदीमा यो हराएको धेरै भइसकेको छ ।

यस्तै केही वर्षअघि नारायणी नदीमा एउटा डल्फिन देखिएको समाचार आएयता नारायणी र गण्डकीमा यसबारे कुनै सूचना नै आएको छैन ।

भर्खरैमात्र एसियाली विकास बैंक (एडीबी)ले सार्वजनिक गरेको बाँधहरूका कारण नेपालका नदी प्रणालीमा रहेका माछा र अन्य जलचरमा पारेको प्रभावसम्बन्धी अध्ययनले जुन ढंगले अहिले देशैभरि बाँध बाँधेर जलविद्युत् आयोजना बनाउने क्रम बढेर गएको छ, त्यसले नेपालका रैनाथेसहित यहाँ आउने प्रवासी (माइग्रेटरी) माछाहरूमा समेत गम्भीर असर पारेको ठहर गरेको छ ।

“बग्ने स्वच्छ पानी (फ्रेस वाटर)मा बस्ने अधिकांश माछा यताउता गरिरहनु पर्ने प्रजातिका हुन्छन्, ठाउँठाउँमा बाँध बनाएर जलविद्युत् र सिंचाइका आयोजना बनाउँदा तिनको बासस्थानदेखि प्रजनन र चिसो–तातो पानीका लागि आप्रवासनमा सम्म असर पारेको देखिन्छ,” एडीबीले नेपालका १३ ठूला जलविद्युत् र सिंचाइ आयोजनाको अध्ययनपछि जारी गरेको प्रतिबेदनमा भनिएको छ । एडीबीले अध्ययनका लागि कालीगण्डकी, मस्र्याङ्दी, कुलेखानी, खिम्ती, त्रिशुलीलगायतका जलविद्युत् आयोजना र बबइ सिंचाइ आयोजनालाई छनौट गरेको थियो ।

जलविद्युत् तथा सिंचाइ आयोजनाहरूले विद्युत् उत्पादन वा सिंचाइका लागि नदी नै पूरै फर्काएर लाने गर्दा सहायक नदीहरूमा माछालगायतका जलचरका बासस्थान तथा आप्रवासनका लागि पानी नै सुक्खा भइ तिनीहरू संकटमा परेको अध्ययनको निष्कर्ष छ । जलविद्युत् उत्पादन गरिसकेपछि फ्याँकिने वा ‘रोटेसन’ गरेर निस्कासन गरिने पानीले तल्लो तटीय क्षेत्रमा तापक्रम र बहाव सन्तुलन नमिल्ने, बालुवा र अन्य प्रदूषण थपिने हुँदा आयोजनास्थलभन्दा मुनिका माछासहितका जलचर संकटमा परेको अध्ययनले देखाएको छ ।

सर्वाधिक जलविद्युत् आयोजना बनाइएका भोटेकोसीसहित अन्य कोसी बेसिनका माछा मारेरै जीविकोपार्जन गर्दैआएका माझी, बोटे, दनुवारसहितका स्थानीयवासीहरूले विगतका तुलनामा माछा थोरै पाउन थालेको, साना माछामात्रै पाउने गरेको अनुभव सुनाउने गरेका छन् ।

वातावरणीय प्रभाव अध्ययनका क्रममा यस्ता समस्या समाधानका लागि व्यवस्था गरिने आयोजनाहरूले उल्लेख गरे पनि नदीको मूल प्रवाहसँगै माछासहितका जलचरका लागि सहायक मार्ग (क्यानल) बनाउने गरेका छैनन् । एडीबीको अध्ययनमा भनिएको छ– “अधिकांश जलविद्युत् आयोजना र सिंचाइ आयोजनामा माछाका लागि ‘फिस पास’, ‘फिसल्याडर’जस्ता व्यवस्था गरिएकै छैनन्, जसका कारण माछाहरू संकटमा परेका छन् ।”

तल जान्छन्, माथि आउँदैनन्

जलविद्युत् तथा सिंचाइ आयोजनाका लागि बनाइने बाँधका कारण चिसो पानीमा बस्ने माछाहरू माथिबाट तल गए पनि बाँधमा कुनै सहायक च्यानल वा माछालगायत जलचरका लागि चाहिने पास नहुँदा ती माछा तल्लो ताप र बहाव बढी भएका क्षेत्रमै अलमलिने र फेरि नयाँ प्रजननका लागि चिसो क्षेत्रमा फर्कन नपाउँदा तिनीहरू संकटमा परेका हुन् ।

हिमाली र पहाडी क्षेत्रमा पाइने तीते असला, रातो असलामात्र होइन, तराई क्षेत्रमा नैनी, जलकपुरजस्ता माछा पनि संकटमा पर्न थालेका छन् । यसको मुख्य कारण ती माछाको आवश्यक प्रजननका लागि नदी, खोला साँघुरिँदै जानु नै हो ।

नयाँ जातका अवसर कि संकट ?
जलविद्युत् आयोजनाहरू बनाएपछि नदीमा आधारित स्थानीय समुदायका लाभका लागि कुलेखानी, सेती–फेवा, कालीगण्डकीलगायतका स्थानमा जलाशयमै ‘केज’ राखेर माछापालनको व्यवस्था गरिए पनि यसले रैनाथे जातका माछालाई झनै संकटमा पारेको अध्ययनमा उल्लेख छ । उदाहरणका लागि कुलेखानीको जलाशयका लागि पानी सञ्चित गर्दा त्यसको पानी भरणमा प्रयोग हुने नदीहरूमा झन्डै ९ महिना पानी सुक्खा नै हुन्छ, त्यसका कारण रैथाने माछाहरू भने संकटमा पर्छन् ।

एडीबीले यी समस्याहरू समाधानका लागि आयोजना बनाउँदा नै नदीमा माछाका लागि सहायक जलचर मार्ग बनाउन र साथसाथै आयोजनाहरूमा ‘फिस लिफ्ट’, ‘फिस ल्याडर’, ‘फिस पास’ जस्ता व्यवस्थापन गर्न सुझाव दिएको छ ।

प्रकाशित समय १५:३४ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु