fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ रुपन्देहीका स्थानीय तह : साधनले धनी, कामले कमी

रुपन्देहीका स्थानीय तह : साधनले धनी, कामले कमी

१६ स्थानीय तहमा ३०९ सरकारी साधन

Butwal upmahanagarpalika-newskarobar

नयाँ संरचनाअनुसार हाल रुपन्देही जिल्लामा कुल १६ वटा स्थानीय तह छन्– १० वटा गाउँपालिका, पाँचवटा नगरपालिका र एउटा उपमहानगरपालिका । स्थानीय तहले करिब डेढ दशकपछि जनप्रतिनिधि पाउँदा स्थानीय बासिन्दामा विकास र समृद्धिले गति पाउनेमा आश्वस्त देखिन्थे । तर, स्थानीय सरकार गठन भएको डेढ वर्ष बितिसक्दा जनप्रतिनिधिका गतिविधि जनताका अपेक्षा पूरा गर्नेतर्फ केन्द्रित छैनन्, बरु झन् झन् सुविधाभोगी बन्दै गएका छन् । पूर्वाधार निर्माणका लागि आवश्यक हेवि इक्युपमेन्टको पनि उपयोग हुन सकेका छैन ।

स्थानीय तहहरुको पहिलो काम भनेकै आफ्नो सुविधाका लागि सवारी साधन खरिद बनेको छ । रुपन्देहीमा नयाँ गठन भएका सबैजसो स्थानीय तहले न्यूनतम ५० लाखभन्दा बढीका स्करपियो जिप खरिद गरेका छन् । गाउँपालिका अध्यक्षदेखि नगरपालिका प्रमुखसम्मले आफ्ना लागि महँगा–महँगा गाडी खरिद गरेका हुन् ।

रुपन्देही जिल्लामा सबैभन्दा बढी सवारी साधन प्रयोग गर्ने स्थानीय निकाय हो बुटवल उपमहानगरपालिका, जहाँ ३३ वटा सवारी साधन छन् । नयाँ जनप्रतिनिधि आएपछि दुईवटा स्करपियो खरिद गरिएका छन् भने केही समय पहिला फेजआउट भएको परियोजनाले खरिद गरेका दुईवटा सुविधा सम्पन्न गाडी पनि उपमहानगरले प्रयोग गर्दै आएको छ । बुटवल उपमहानगरपालिकाका जिन्सी शाखा प्रमुख केशव ज्ञवालीका अनुसार एउटा पजेरो पहिलादेखि नै प्रयोग हुँदै आएको थियो । दुईवटा टाटा सुमो गाडी परियोजनाबाट आएका हुन् ।

Butwal upmahanagarpalika-newskarobar

नगरपालिकाको एउटा भ्यान छ भने मोटरसाइकल १७ वटा छन् । तीन अधिकांश अधिकृतस्तरका कर्मचारीले प्रयोग गर्छन् । फोहोरमैला संकलनका लागि चारवटा ट्रयाक्टर नगरपालिकामा छन् भने दुईवटा दमकल चालू अवस्थामा छन् । एउटा एक्ज्याभेटर र एउटा भ्याकुम गरी ३३ वटा सवारी साधन नगरपालिकाले प्र्रयोग गर्दै आएको छ । अरु महँगा सवारी साधन खरिद प्रक्रिया अघि बढाइएको छ ।

रुपन्देहीमा रहेको दोस्रो सबैभन्दा बढी सरकारी साधन प्रयोग गर्दै आएको स्थानीय तह हो सिद्धार्थनगर नगरपालिका । जहाँ ३१ वटा सवारी साधन प्रयोगमा छन् भने नयाँ साधन खरिद प्रक्रियामा छन् । स्करपियो जिप, कार, भ्यान गरी चारवटा छन् । यी साधन नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएका छन् ।

नगरपालिकाका स्टोरकिपर प्रमुख देव ज्ञवालीका अनुसार ट्रयाक्टर आठवटा छन् । एउटा ट्रिप्पर र एउटा एक्ज्याभेटर लिलामी गर्ने अवस्थाका छन् । नगरपालिकामा १४ वटा मोटरसाइकल छन् । नगरपालिकामा एउटा एम्बुलेन्स खरिद गर्दैछ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका र कोटहीमाई गाउँपालिकाका २१/२१ वटा साधान छन् भने तिलोत्तमा नगरपालिकाले थप साधन खरिद गरेको छ । नगरपालिकामा दुई वटा स्करपियो छन्, जुन प्रमुख र उपप्रमुखले प्रयोग गर्दै आएका छन् भने एउटा कार प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएका छन् । स्टोर तथा जिन्सी शाखा प्रमुख सीता भण्डारीका अनुसार १७ वटा मोटरसाइकल, सामान बोक्ने बोलेरो पनि दुईवटा थपिँदै छ । अहिले नगरपालिकामा हाइलेक्स गाडी दुई वटा छन्, जुन जनस्वास्थ्य कार्यालयबाट सरेर आएका हुन् । नगरपालिकामा स्कुटर एउटा, मोटरसाइकल १४ वटा छन् र ट्रिप्पर एउटा छ ।

यस्तै कोटहीमाई गाउँपालिकाले पनि २१ वटा साधन प्रयोग गर्दै आएको छ । जसमा स्करपियो जिप एउटा र मोटरसाइकल १९ वटा छन् । रोचक कुरा त के छ भने यति साधन खरिद गर्दासमेत एउटा कार गाउँपालिकाले अझै पनि भाडामा लिएर चलाएको छ ।

देवदह नगरपालिका प्रमुख सरकारी साधन चढ्दैनन् । उनको आफ्नै कार छ । तैपनि, नगरपालिकाले दुईवटा स्करपियो जिप खरिद गरी सञ्चालन गरेको छ । उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत चढ्नका लागि गाडीको व्यवस्था गरिएको छ । नगरपालिकाका सूचना तथा प्रकाशकीय अधिकृत गंगा पन्थीका अनुसार मोटरसाइकल १५ वटा, जेसिबी एउटा र ट्रयाक्टर एउटा नगरपालिकाको स्वामित्वमा सञ्चालन भएका साधन हुन् ।

यस्तैm लुम्बिनी साँस्कृतिक नगरपालिकाले ११ वटा साधन प्रयोग गर्दै आएको छ । जसमा कार, जिप, ट्रिप्पर, दमकल, एम्बुलेन्स र भ्याकुलोडर एक/एक वटा तथा मोटरसाइकल पाँचवटा छन् ।

सैनामैना नगरपालिकामा २० वटा साधन छन् । तीनवटा स्करपियो जिप नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएका छन् भने १६ वटा मोटरसाइकल र एउटा ट्रिप्पर नगरपालिकामा छन् ।

रुपन्देहीको गैडहवा गाउँपालिकामा १६ वटा साधन छन् । स्करपियो एउटा छ । यो गाउँपालिकाले पनि एउटा स्करपियो भाडामा प्रयोग गर्दै आएको छ । मोटरसाइकल सबै वडाका वडाध्यक्षलाई ९ वटा प्रदान गरिएको छ भने उपाध्यक्षका लागि पनि मोटरसाइकल छ । जुन उनका श्रीमानले प्रयोग गर्छन् । अन्य पाँच वटा मोटरसाइकल कार्यालयमा छन् ।

कञ्चन गाउँपालिकाले १३ वटा साधन प्रयोग गर्छ । एउटा स्करपियो भर्खरै खरिद गरिएको हो । गाउँपालिकाले स्कुटर दुईवटा र कार एउटा भाडामा प्रयोग गर्दै आएको छ । मोटरसाइकल ९ वटा छन् । मर्चवारी गाउँपालिकामा पनि स्करपियो एउटा र मोटरसाइकल १२ वटा गरी १३ वटा साधन छन् भने मायादेवी गाउँपालिकामा १७ वटा साधन छन् । जसमा स्करपियो जिप दुईवटा र मोटरसाइकल १५ वटा छन् । यस्तै, तीनवटा गाउँपालिका शुद्धोधन, सियारी र मायादेवी गाउँपालिकाले संयुक्त लगानीमा एउटा एम्बुलेन्स खरिद गर्दै छन् ।

ओमसतिया गाउँपालिकामा २४ वटा सवारी साधन छन् । स्करपियो जिप एउटा, मोटरसाइकल ११ वटा प्रयोगमा छन् भने थप ६ वटा मोटरसाइकल र ५ वटा स्कुटर दाखिला हुन बाँकी छन् । रोहिणी गाउँपालिकासँग एउटा स्करपियो र नौ वटा मोटरसाइकल छन् । स्करपियो गाउँपालिका अध्यक्षले प्रयोग गर्छन् ।

यस्तै, सियारी गाउँपालिकामा १६ वटा साधनमध्ये स्करपियो जिप एउटा, मोटरसाइकल १४ वटा र एउटा ट्रयाक्टर छ । शुद्धोधन गाउँपालिकामा १९ वटा साधनमध्ये स्करपियो २ वटा छन् भने मोटरसाइकलको संख्या १७ छ ।

प्रकाशित समय १२:४३ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु