fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ शब्दचित्र (कविता)

शब्दचित्र (कविता)

durga-rai-newskarobar

शब्दहरूको -याकबाट मैले एउटा शब्द निकालेँ
-याकमा बस्दा–बस्दा शब्दहरू मैलिएछन्
केही शब्दहरूमा ढुँडी परेछ
केही शब्दहरूमा माऊ लागेछ ।
मैलिएका, ढुँडी परेका शब्दहरूलाई
धोइपखाली चिटिक्क पारेँ
पाउडर, लाली अनि अत्तर छर्केपछि
एकाएक शब्दहरू चिटिक्क भए ।

हेरौं हेरौं, खेलाऊँ खेलाऊँ देखिन थालेपछि
शब्दहरूसँग शब्दहरू लोभिन थाले
म राम्रो कि तँ राम्रो होडबाजी
शब्दहरूबीच चल्न थाल्यो
शब्दहरूले शब्दहरूको भाउ मोलतोल गर्न थाले
कोही बिके सस्तोमा कोही बिके महँगोमा
शब्दको आकार सबै समानान्तर नै थियो
शब्दको शक्ति पनि समानान्तर नै थियो ।

ग्राहकहरूको हेराइ र बुझाइ बेग्लाबेग्लै थियो
केही शब्द बजारको हाटघरतिर पुगे
केही शब्द सानदार मल र कम्पेक्सतिर पुगे
केही शब्द सुन्दरीको कोमलतामा पुगे
केही शब्दहरू लिलामीमा पुगे
सडकमा शब्दहरूको हुलबन्दी सुरु भयो
शब्द–शब्दबीच भेदभाव सृजना भयो
केही शब्द सिद्धान्तको घेराभित्र रहे
केही शब्द स्वच्छन्दताको घेराभित्र भए
शब्दको आकार समानान्तर थियो
शब्दको शक्ति पनि समानन्तर नै थियो
हुलबन्दी शब्दहरू सडकमा
उन्मुक्तिको नारा लगाउन थाले ।

कोही शब्दको हातमा फूल थियो
कोही शब्दको हातमा खञ्जर थियो
सबैको नारा आवाज एउटै थियो
केही शब्दको मुहारमा मुस्कान थियो
केही शब्दको मुहारमा कठोरता थियो
सडकमा शब्दहरूको ठूलो हुल भयो
सडकमा शब्दहरूको आवाज पनि ठूलो भयो
चरैतिर दबाब सुरु भयो
सडकभरि शब्दहरू छरपस्टिए
शब्दहरूको पैतलामा शब्दहरू किचिए
केही शब्दहरू सडक संघर्षमा शहीद भए
केही शब्द रगतको होलीमा रंगीन भए
केही शब्दहरू उन्मुक्तिको वान्ता गर्दै
सडकमा नै लडिरहे ।

इतरवितर छरिएका शब्दहरूको रमिता शब्दहरूले नै हेरिरहे
एक–एक शब्द बटुली
-याकमा मिलाउन थाले
घायल भएका शब्दहरू घायल नै रहे
नारा लगाइरहेका शब्दहरू नारा लगाइरहे
-याकमा पसेपछि शब्दहरू चुपचाप
औँसीको रातमा चन्द्रमाको आभा पर्खी बसे
शब्दकोषको पृष्ठमा चेपिएर ।

प्रकाशित समय १३:३४ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु