गृहपृष्ठ सुपर माई ‘ए’ मा लगानी जुट्यो, सानिमा बैंकको अगुवाइमा १.३७ अर्ब लगानी
सुपर माई ‘ए’ मा लगानी जुट्यो, सानिमा बैंकको अगुवाइमा १.३७ अर्ब लगानी
- १६ महिनामा विद्युत उत्पादन गर्ने लक्ष्य

सुपर माई ए जलविद्युत आयोजनामा सानिमा बैंकको अगुवाइमा चार वटा बैंकले लगानी गरेका छन् । इलाममा निर्माणाधीन आयोजनामा सानिमासहित सेन्चुरी, एनसिसि र ज्योति विकास बैंक १ अर्ब ३७ करोड रुपैयाँबराबर ऋण लगानी गर्न बैंक सहमत भएका हुन् ।
९.६ मेगावाटको आयोजनामा सानिमाले ५३ करोड, सेन्चुरीले ३५ करोड, एनसिसिले ३४ करोड र ज्योति विकास बैंकले १५ करोड रुपैयाँ लगानी गर्नेछन् । आयोजनामा बैंकले गर्ने ऋण लगानी कुल लागतको ७५ प्रतिशत हो । २५ प्रतिशत (४५ करोड रुपैयाँ) स्वपुँजी लगानी छ । आयोजना सम्पन्न गर्न १ अर्ब ८९ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।
मंसिरबाट निर्माण सुरु भएको आयोजनाको १० प्रतिशत काम पूरा भइसकेको छ । आयोजनाको बाँध क्षेत्रमा डिसेन्डर (बालुवा थिग्रयाउने पोखरी), पहुँच नहर, ग्राभेल ट्र्याप निर्माणको काम भइरहेको छ ।
त्यस्तै, विद्युतगृहको जग खन्न सुरु गरिएको कम्पनीले जनाएको छ । आयोजनाबाट २०७७ जेठबाट विद्युत उत्पादन गर्ने तालिका छ । नेपाल विद्युत प्राधिकरणले २०७७ पुससम्मको अवधि तोके पनि आठ महिनाअघि नै सम्पन्न हुने कम्पनीको दाबी छ । कम्पनीले यसअघि साढे १२ मेगावाटबराबरका तीन आयोजनाको सफल निर्माण गरेर प्रसारण प्रणालीमा जोडिसकेको छ ।
प्रकाशित समय १३:१४ बजे