fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ दुर्गेस कुमार यादव : बिएस्सी एजी गरेका २४ वर्षीय स्मार्ट किसान

दुर्गेस कुमार यादव : बिएस्सी एजी गरेका २४ वर्षीय स्मार्ट किसान

हुनत नेपाल कृषि प्रधान देश हो । तर, यहाँ कृषि पेशा र कृषकलाई सम्मानको दृष्टिले हेर्नेहरू न्यून मात्रमा छन् । त्यसैले पनि होला सायद युवा पुस्ता कृषि पेशा अंगाल्न चाहँदैनन् । किन ? किनकि यसमा सम्मान छैन, इज्जत छैन भन्ने धेरैको विश्वास छ । त्यसैले कुनै युवा कृषि बन्नु नै नेपालका लागि हिम्मतिलो कार्य हो । त्यस्तै हिम्मतिलो कार्य गर्दैछन् रूपन्देहीका २४ वर्षिय दुर्गेस कुमार यादव ।

यादव अहिले २४ वर्षका भए । उनले कृषि नै पढे, बिएस्सी एजी गरेका छन् । पढाई नै कृषिसम्बन्धी भएपछि उनको रूचि पनि कृषिमै भयो । तर, सजिलो कहाँ छ र ! यत्रो पढेर पनि किसान बन्न थाल्यो भनेर धेरैले उनको कुरा काट्न थाले । तर, उनलाई त्यसले छेक्न सकेन । यस्ता कुराहरू एउटा कानले सुनेर अर्को कानले उडाइदिन्थे उनी ।

गरे के हुन्न ? उनको युवा मनमा बारम्बार उब्जिरहने प्रश्न थियो यो । यसको उत्तर कर्मद्वारा दिने प्रयत्नमा लागे यादव । नेपाली माटोमै सुन फलाउन सकिन्छ भन्ने दृढ अठोट बोकेका उनी विदेशिने चक्करमा पनि परेनन् । बरू कृषि कर्ममा होमिए । उनले अहिले ८५ विघा जग्गा भाडामा लिएर कृषि कर्म गर्दै आएका छन् ।

रूपन्देहीस्थित गैडहवा गाउँपालिका-८ हसनापुरमा उनको आरम्भ एकीकृत कृषि फर्म छ । सोही फर्ममार्फत उनले नमुना कृषिकर्मलाई अघि बढाइरहेका छन् । उनका बाबु नारदमुनी यादव पनि उत्साही कृषक हुन् । बाबु जस्तै छोरालाई पनि कृषिकर्मप्रति विश्वास छ । त्यसैको परिणाम हो उनले पाएको युवा कृषकको परिचय ।

उनका बाबु नारदमुनीले  सुरू गरेको युनाइटेड अष्ट्रिज फर्मबाट कृषि कर्मप्रति यादवको रूचि बढ्यो । विगत लामो समयदेखि जग्गा भाडामा लिएर कृषि खेती गर्दै आएका आफ्ना बुबाको कृषिप्रतिको लगनलाई साकार बनाउन उनले आधुनिक कृषि प्रणाली अनुसार कृषि खेती लाई अबलम्बन गरेका छन् ।

सदियौंदेखि परम्परागत कृषि खेतीमा लागेका परिवारलाई उनले आधुनिक एकीकृत कृषि प्रणालीमा जोड्न सफल भएका हुन् । उनले अहिले फलफूल खेतीको अलवा, बाख्र पालन,  भैसी पालन, माछा पालनलाई एकै साथ अगाडि बढाएका छन् ।

केही समयपछि हाँस समेत पालन गर्ने उनको लक्ष्य छ । उनले स्थानीय लोकल जातको कुखुरा पाल्ने सोच पनि बनाएका छन् ।

यति धेरै जग्गा भाडामा लिएर खेती गर्ने उनी रुपन्देहीको पहिलो किसान हुन् । पशु प्राविधिक बुबाले आफ्नो कार्यलाई यत्तिकै थाति राखेर कृषि क्षेत्रमा  होमीएका हुन् ।

विद्यालयको बाँजो जग्गा भाडामा लिएर उनले हराभरा बनाएका छन् । केही महिना अघि ५ हजार अष्ट्रिजका चल्ला उनका फर्ममा थिए । सम्झौता सकिएपछि उनले अहिले अष्ट्रिज पालेका छैनन् । कन्ट्रयाक्ट फार्मीङ्गको सुरुवात यादवले नै गरेका  थिए । जसबाट राम्रो आम्दानी भए पनि बढी झन्झटीले भएकाले अष्ट्रिज हटाएर बाख्रा, माछा र भैसी पालन गरेको उनी बताउँछन् ।

एक बर्षमा साढे ६ लाख रुपैयाँ भाडा तिर्ने गरी लिजमा लिएरको जग्गाको पहिलो प्लट ४६ विघा छ । यस्तै थप १२  विघा क्षेत्रफलमा उनले खेती विस्तार गर्ने योजना बनाएका छन् भने करिब ३५ विघा क्षेत्रफलमा आपँ बगैँचा छ । यो जग्गा पनि उनले विद्यालयसँग भाडामा लिएका हुन् ।

बुबा  नारदमुनी यादवले आरम्भ एकीकृत कृषि फर्मको नाममा दर्ता गरी व्यवाासयीकरुपमा खेति सुरु गरेका थिए । बाबुले गर्दै आएको परम्परागत कृषिलाई आधुनिक बनाई ठूलो आकार दिन तिन भाई छोराहरु लागि परेका छन् ।

छोराहरु मध्यका माहिला छोरा दुर्गेश यादव दाङमा रहेको कृषि क्याम्पसमा कृषि विषय अध्ययन गर्छन् । बाबुहरुले गर्दै आएको परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरि आधुनिक प्रणालीमा लैजानकै लागि उनले कृषि विषय छनौट गरेको बताए ।

‘बुबाले गर्दै आएको कृषिलाई रोजीरोटीका रुपमामात्र नभई आधुनिकिकरण गर्ने योजना छ ।’ यादव भन्छन्, ‘अब कृषिमात्र होइन यसलाई गरेर नै देखाउने योजना हो ।’

प्रत्येक वर्ष करिब ढेड करोड रुपैयाँ को  कारोबार हुने बताउने उनी हालसम्म २ करोड भन्दा बढी लागनी गरिसकेको बताउँछन् ।

खर्च कटाएर वर्षमा ३० देखि ३२  लाख रुपैयाँसम्म आम्दानी गर्ने यादवले जानकारी दिए ।  ५ हेक्टर क्षेत्रफलमा माछा पालन गरेका छन् । यसलाई अझै विस्तार गर्ने योजना अनुसार पोखरी खन्ने काम जारी छ । यस्तै फर्ममा ५६ ओटा भैँसी र १०० भन्दा बढि बाख्रा समेत उनले पालेका छन् ।

तरकारी खेती उनीहरुको नियमित खेती नै हो ।  फुलकोबी, काउली, धनियाँ, प्याज, खुर्सानी लगायतका तरकारीहरु उत्पादन गररहेका छन् । कृषि फर्मबाट बर्षेनी ३० देखि ४५ लाख सम्म आम्दानी हुने गरेको छ ।

निकट भविष्यमा नेपालकै नमुना कृषि फर्मको रुपमा आफ्नो फर्मलाई चिनाउन चाहन्छन् उनी । उचित बजार अभावको कारण केही समस्या भएको बताउँने उनले तै पनि हिम्मत हारेका छैनन् । भारतबाट माछा आयातमा सरकारले कडाई गर्नुपर्ने, किसाने उत्पादन गरेको सम्पूर्ण कृषिजन्य उत्पादनलाई सरकारले विक्रिको ग्यारेन्टी गर्न सकेमा अझ बढी युवाहरु कृषि क्षेत्रमा अर्काषित हुन सक्ने यादवको भनाइ छ । बैंकबाट कर्जा पाउन मुस्किल भएको बताउँने उनी नीति निर्माताहरुले कृषकमैत्री वित्तीय प्रणाली ल्याउन नसकेको दुखेको पनि पोख्छन् ।

प्रकाशित समय १६:२२ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु