fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ माछाको राजधानी छपियामा बल्छी खेल्न जाने कि !

माछाको राजधानी छपियामा बल्छी खेल्न जाने कि !

दयानगरमा सामान्य किसानसँगै ८ करोड रुपैयाँसम्म लगानीका होम स्टेसहितका माछापालन केन्द्र र रेष्टुरेन्ट खुलेका छन् ।

fish chapya story photo

वरिपरि माछापोखरी र पोखरीको बीचमा बनाइएको कलात्मक टौवा । खरको छानो लगाएर बनाइएको टौवामा बसेर माछापोखरीमा बल्छी हान्दै गरेको दृश्य रुपन्देहीमो दयानगर छपिया क्षेत्रमा प्रशस्तै देख्न सकिन्छ । माछाको राजधानीको रुपमा पहिचान बनाएको छपियामा केही वर्षयता माछाका परिकार पाइने रिसोर्ट खुल्ने क्रम पनि बढेको छ ।

खासगरी किसानले नै माछापाखेरीको एक कुनामा किचन निर्माण गरी आउने पाउनालाई टौवामा मत्स्यजन्य विभिन्न परिकार खुवाउने गरेका छन् । मत्स्य पर्यटकको हवका रुपमा विकास गर्ने गरी सियारी गाउँपालिकाले पनि उक्त योजनामा सहयोग गरेको छ ।

माछापोखरीमा नै फाइबरबाट निर्माण गरिएको डुंगामा समेत पनि गर्न पाउने भएको पर्यटकको आकर्षण थप बढेको छ । पर्यटकले पोखरीको डिलमा बसेर बल्छीमा माछा पार्ने र बल्छीमा परेको माछाका विभिन्न परिकार बनाएर खान पाउनेछन् ।

fish chapya story photo

कृषकबाटै रिसोर्ट सञ्चालन
छपियाको यो गतिविधिमा कुनै ठूला लगानीकर्ताको प्रवेश भएको भने होइन । किसानले नै कृषि कर्मलाई यसरी विविधीकरण गर्दै लगेका हुन् । सियारीका किसानले माछामात्रै उत्पादन तथा बिक्री नगरेर माछाका परिकारसमेत बनाएर घरेलु वातावरणमा पर्यटकलाई खुवाउन थालेपछि राम्रो आम्दानी गर्न थालेका छन् ।

माछा उत्पादन बढ्दै गएपछि छपिया क्षेत्रमा माछाको रिसोर्टसमेत सञ्चालनमा आउन थालेका छन् । पर्यटकलाई लक्षित गरेर निर्माण गरिएका यस्ता प्रकृतिका रिसोर्टबाट राम्रो आम्दानी लिन किसान सफल भएका छन् ।

केही वर्षयता सञ्चालनमा आएको रिसोर्ट हो– छपिया फिस भिलेज रिसोर्ट । परम्परागत रुपमा माछा पाल्दै आएका युवा कृषि उद्यमी गौरव गौतमले दुई वर्षअघि रिसोर्ट खोलेका हुन् । सियारी गाउँपालिका–४, शिवपुरमा उनले सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याएका छन् । आदित्य एकीकृत कृषि फर्मसमेत सञ्चालन गरेका उनको रिसोर्टमा माछाका विभिन्न परिकार बन्छन् ।

सञ्चालक गौतमले ५ बिघामा माछापोखरी निर्माण गरेका छन्, जहाँ साना–ठूला गरी ६ वटा माछापोखरी छन् । माछापोखरी अवलोकन तथा बल्छी थापेर माछा मार्न आउने पर्यटकलाई लक्षित गरी उनले ६ वटा कजेट र ६ वटा कोठा निर्माण गरेका छन् ।

fish chapya story photo

माछाको विशेष परिकार निर्माण गर्ने उक्त रिसोर्टले माछाको मःम, फ्राइ माछा, फोल माछा, स्टिम फिस, फिस टिक्कालगायतका माछाका परिकार निर्माण गरी पर्यटकलाई खुवाउने गरेको छ । माछाको पारखीका लागि उनको रिसोर्ट आकर्षणको केन्द्र बनेको छ ।

जग्गासहित करिब एक करोड २२ लाख रुपैयाँ लगानी गरेका गौतमले १० जनालाई रोजगारी दिएका छन् । २०४७ सालदेखि माछापालन गर्दै आएका गौतमले पेसाको विविधीकरणका लागि रिसोर्ट सञ्चालनमा ल्याएको जानकारी दिए । ‘माछा पालेरमात्रै भएन, माछाको क्षेत्रमा पर्यटक पनि तान्नुपर्छ भन्ने लागेर रिसोर्ट खोलेको हुँ,’ न्युज कारोबारसँग गौतमले भने ।

माछाको परिकार खान र पोखरीमा बल्छी थाप्नका लागि बिदाको दिनमा ८० देखि सय जनासम्म मानिस आउने गरेको गौतमले बताए । ‘दैनिक डेढ लाखभन्दा बढीको कारोबार हुन्छ,’ उनले सगर्व भने, ‘स्विमिङ पुल र सभाहलसमेत निर्माण गरेपछि आम्दानी अझ बढ्ने विश्वास छ ।’

रिसोर्टमा हाल भैरहवा, बुटवल, पोखरा, कपिलवस्तु र काठमाडौंबाट समेत मानिस आउने गरेका छन् । पर्यटकले सामान्य कोठाको १ हजार रुपैयाँ र एसिजडित कोठाको १६ सय रुपैयाँ तिर्नुपर्छ भने डुंगा सयर गरेको प्रतिव्यक्ति १ सय रुपैयाँ लाग्छ । यस्तै, बल्छी खेलेर मारेका माछाको भने तौलका आधारमा पैसा लिने गरिएको सञ्चालक गौतमले बताए ।

प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना (मत्स्य जोन)का कार्यालय प्रमुख रमेश जैसवालका अनुसार छपिया क्षेत्र नेपालकै माछाका लागि प्रख्यात स्थान हो । चिसो पानीमा माछा उत्पादन पनि बढी हुने र स्वादिष्टसमेत हुने गरेकाले माछाका पारखी यो क्षेत्रमा बढी आकर्षित हुने गरेका छन् । कार्यालयले पनि किसानलाई माछापोखरी खन्नदेखि बजार प्रवर्धनमा समेत विशेष भूमिका खेलेको छ ।

छपियामा मत्स्य व्यवसायी टंकप्रसाद ज्ञवालीले पनि मत्स्य रेष्टुरेन्ट सञ्चालन गरेका छन् । उनको रेष्टुरेन्टमा दैनिक करिब २०–३० जना आन्तरिक पर्यटक माछाका परिकार खान जाने गरेका छन् । ‘माछाका नयाँ नयाँ परिकार थप्दै गएका छाैं, जसले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ,’ उनी भन्छन्, ‘मत्स्य रेष्टुरेन्टमा फिस करी, फिस मःम, फिस पकौडा, फिस छोयला, अचार, टिक्कालगायत परिकार बन्छन् ।’

fish chapya story photo

मत्स्य पर्यटन केन्द्र बनाउने अभियान
माछा किन्ने, पोखरी हेर्ने र माछासँग खेल्ने पर्यटक बढेपछि दुई वर्षयता दयानगरको छपियालाई मत्स्य पर्यटन केन्द्र बनाउन अभियान नै थालिएको छ । अभियानअन्तर्गत पर्यटकलाई पोखरीमा घुमाउने, बल्छी खेलाउने, माछाका परिकार खुवाउने र बसोबासको व्यवस्था मिलाउने काम भएको मत्स्य जोनका मत्स्य विकास अधिकृत रमेश जैसवालले बताए । उनका अनुसार माछापालनमा दयानगरका सामान्य किसानसँगै ८ करोड रुपैयाँसम्म लगानीका होम स्टेसहितका माछापालन केन्द्र र रेष्टुरेन्ट खुलेका छन् । छपियामा दैनिक २ सयभन्दा बढी किसान तथा पर्यटक जाने गरेका छन् ।

पर्यटकलाई सजिलै छपिया लैजान बुद्ध जन्मस्थल लुम्बिनी, बुटवल र भैरहवासँग बजार र सडक सञ्जाल जोडिँदै गएको प्रधानकन्त्री कृषि आधुनिकीकरण परियोजना मत्स्य जोन सञ्चालक समितिका संयोजक गणेशबहादुर शाहीले बताए । ३२ वर्षदेखि परम्परागत ढंगले माछापालन थालिएको छपियामा सरकारले समेत सहयोग बढाएपछि केही वर्षयता व्यावसायिक रूप लिएको हो । यहाँको १६७ हेक्टरमा १२ सयवटा पोखरीमा माछापालन भएको छ ।

छपियामा मात्रै ५ सय ५० व्यावसायिक किसानले वार्षिक करिब १५ सय टन माछा उत्पादन गर्छन् । यसबाट वार्षिक करिब ३० करोडको कारोबार हुने गरेको छ । कम मेहनत र कम समयमा नगद आम्दानी हुने भएकाले किसानहरू व्यावसायिक माछापालनमा आकर्षित छन् ।

छपियामा १७ वटा माछा फार्म ठूलो लगानी गरेर सञ्चालनमा छन् । गाउँमै माछा बजार, जिउँदो माछा पसल, दाना उद्योग र मत्स्य प्रशोधन केन्द्र छन् । माछापालनलाई सहज बनाउन किसानले १२ वटा कृषक समूह र जलदेवी मत्स्य उत्पादन सहकारी संस्था खोलेका छन् ।

मत्स्य जोन र मत्स्य विकास केन्द्रको समन्वयमा यी कृषक समूह र सहकारीले वर्षभरि नै माछा उत्पादन गर्ने गरेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार रुपन्देहीको कुल ११ सय हेक्टरमा वार्षिक ५ हजार ३ सय टन माछा उत्पादन हुँदै आएको छ, जसमा छपिया सबैभन्दा बढी पाछापालन हुने पकेट क्षेत्र हो ।

fish chapya story photo

fish chapya story photo

प्रकाशित समय ११:५६ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु